रुसले फेक न्यूज नहटाएको निहुँमा फेसबुक र इन्स्टाग्राम माथि लगायो प्रतिबन्ध

रसियाको एक जिल्ला अदालतले फेसबुक र इन्स्टाग्राम माथि प्रतिबन्ध लगाउन आदेश दिएको छ। फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाविरुद्ध राजधानी मस्कोको भेर्सकोइ जिल्ला अदालतमा परेको अतिवादी गतिविधि प्रोत्साहनसम्बन्धी मुद्दामा सोमबार फैसला गरेको हो।

रुसी सेनाले युक्रेनमा गरेको सैन्य गतिविधि र युद्धविरुद्ध रसियामा प्रदर्शन आह्वानलगायतका विषयमा गलत समाचारलाई नहटाएको भन्दै आरोप पत्र दायर भएको थियो।

आरोपलाई सदर गर्दै अदालतले मेटालाई रसियमा कार्यालय खोल्न र व्यापार गर्न रोक लगाउने फैसला सुनाएको हो। तर, अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उक्त विषयमा मेटाको प्रतिक्रिया लिन खोज्दा अस्वीकार गरेको छ।

रुसको संचार र मिडिया नियामकले यसअघि नै इन्स्टाग्राम र फेसबुक ब्लक गरिसकेको छ। रुसी सैनिकविरुद्ध हिंसा भड्काउन इन्स्टाग्राम र फेसबुक प्रयोग भइरहेको भन्दै नियामकले रोक लगाउने निर्णय गरेको थियो।

Comments

Back to top