ब्याजदर प्रिमियममा कडाइ गर्ने तयारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक प्रिमियममा कडाइ गर्ने तयारीमा लागेको छ । वाणिज्य बैंकहरूले आधारदरमा मनपरीे प्रिमियम थपेर ब्याजदर निर्धारण गरेको भन्दै गुनासो बढ्न थालेपछि राष्ट्र बैंकले प्रिमियममा कडाइ गर्न लागेको हो । बैंकहरूले तरलताको अभाव देखाउँदै आधारदरमा मनलाग्दी ढंगले प्रिमियम लिएको गुनासो राष्ट्र बैंकमा बढेपछि प्रिमियममा कडाइ गर्न बाध्यकारी अवस्थामा पुगेको राष्ट्र बैंकका एक कर्मचारीले बताए ।

राष्ट्र बैंकमा प्रिमियमसम्बन्धी गुनासो बढेपछि केही महिना अगाडि राष्ट्र बैंकले २७ वटै बैंकलाई पत्र पठाएर १० करोड रुपैयाँसम्मको ऋणको प्रिमियमदर माग गरेको थियो । अहिले सबै बैंकले प्रिमियम राष्ट्र बैंकसमक्ष पठाइसकेका छन् ।

राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेल पनि बैंकहरूले प्रिमियम बढाएको गुनासो बढेको बताए । पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माले पनि बैंकहरूको ब्याजदरको विषयमा चासो व्यक्त गर्दै आएका छन् । केही सातादेखि विभिन्न सार्वजनिक सभाहरुमा ब्याजदरको विषयमा धारणा राख्दै आएका छन् ।

गत शनिबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा पनि उनले गभर्नर अधिकारीलाई बैंकको ब्याजदर घटाउनेबारे सोच्न निर्देशन दिएका थिए ।

Comments

Back to top