इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले पायो नयाँ लाइसेन्स

नेपालमा नयाँ क्रेडिट रेटिङ्ग कम्पनी संचालनमा आएको छ । विगत लामो समय देखी पूर्वाधार तयार गरी क्रेडिट रेटिङ्ग व्यवसाय गर्न आवेदन दिएर प्रतिक्षासूचीमा रहेको इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले अन्ततः क्रेडिट रेटिङ्ग संस्थाको अनुमतिपत्र प्रदान गरेको छ । यो सँगै नेपालमा रेटिङ्ग एजेन्सीको संख्या ३ वटा पुगेको छ ।

भारतको प्रतिष्ठित रेटिङ्ग एजेन्सी इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ्ग प्रा.लि. को सहायक कम्पनीका रुपमा स्थापित उक्त कम्पनीको कुल चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । क्रेडिट रेटिङ्ग नियमावली २०६८ अनुसार नेपालमा क्रेडिट रेटिङ्ग कम्पनी स्थापना गर्न विदेशमा रेटिङ्ग सम्बन्धी काम गरेको संस्थाको साझेदारी अनिवार्य गरिएको छ । सोही बमोजिम कम्पनीको ५१ प्रतिशत सेयर हिस्सा इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ्ग प्रा.लि. को रहेको छ भने नियम अनुसार बाँकी हिस्सा अन्य स्थानीय साझेदारको रहेको छ ।

सूचीकृत हुने कम्पनीहरु बढ्दै गएको तथा नेपाल राष्ट्र बैंकले ५० करोड भन्दा बढीको ऋणको लागि समेत रेटिङ्ग गराउनुपर्ने ब्यवस्था गरे सँगै नेपालमा थप नयाँ रेटिङ्ग कम्पनीको आवश्यकता महशुस गरिएको थियो । काठमाडौंको बानेश्वर हाईट्स स्थित टङ्कप्रसाद मार्गमा कार्यालय रहेको उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रबिन पुडासैनीले नयाँ कम्पनी थपिएपछि प्रतिस्पर्धा बिस्तार हुने र सेवाग्राहीले सहज एवं गुणस्तरीय सेवा पाउने बताए ।

Comments

Back to top