निर्यात ८२ प्रतिशतले वृद्धि हुँदा पनि व्यापार घाटा बढ्यो

चालू आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापारघाटा बढेको हो । भन्सार विभागका अनुसार आयात ३८.६४ प्रतिशत, निर्यात ८२.९० प्रतिशत र व्यापार घाटा ३४.५० प्रतिशतले बढेको छ ।

विभागका अनुसार आठ महिनामा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजारको वस्तु निर्यात भएको छ । नेपालको व्यापारघाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजारको आयात, ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजारको निर्यात गरी ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो ।

त्यस्तै यो आठ महिनामा नेपालको वैदेशिक व्यापार पनि ४२.१३ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा वैदेशिक व्यापारको आकार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत आवमा यस्तो आकार १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

Comments

Back to top