चैतको पहिलो हप्तामै निक्षेप र कर्जा प्रवाह घट्दा सिडी रेसियोमा दबाव

चैत पहिलो सातामै निक्षेप संकलन तथा कर्जा विस्तार ऋणात्मक देखिएको छ । चैतमा चालु खर्च बढ्ने र बैंकिङ प्रणालीमा निक्षेप आउने अपेक्षा गरिए पनि चैत पहिलो सातामा मात्रै निक्षेप संकलन ५ अर्बले घटेको छ । साथै कर्जा प्रवाह पनि ४ अर्बले घटेको छ ।

बैंकर्स संघका अनुसार चैत चार गते शुक्रवारसम्ममा बाणिज्य बैंकहरुले ४३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । विगतका वर्षको तुलनामा यस वर्ष कर्जा विस्तारको अनुपात धेरै नै घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सिडी रेसियो ९०.५४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्त भित्रमा सिडी रेसियो ९० प्रतिशतमा झार्न निर्देशन दिएको छ । तर बैंकिङ प्रणालीबाट निक्षेप घट्न थाले पछि बैंकहरु दवावमा परेका छन् ।

प्रणालीबाट पैसा बाहिरिन थालेको भन्दै बैंकहरुले फागुन महिनामा निक्षेपको व्याजदर बढाएका थिए । तर चैतमा निक्षेप भित्रिने भन्दै बैंकहरुले व्याजदर बढाएनन् । व्याजदर नबढाउने वित्तीकै प्रणालीबाट निक्षेप भने घटेको छ ।

Comments

Back to top