कुराउनी व्यवसाय चलाउँदै तीन पुस्ता

सिन्धुलीको दुधौली नगरपालिका–११, धनसरीकी सत्यदेवी पराजुली बिहान झिसमिसेमा उठेर चुलोमा लिपपोत र आगो बाल्छिन्। त्यसबेला सम्ममा उनका श्रीमान् तुलसी पराजुली ठुल्ठूला कराही र दूध लिएर आइसक्छन् । आगो दन्किएर कराहीको दूध तात्न थालेपछि उहाँहरूलाई सहयोग गर्न तुलसीका बाबु ७२ वर्षीय वेदप्रसाद र छोरा झुलन आइसक्छन् । यो पराजुली परिवारको दैनिकी हो । उनीहरू विगत १४ वर्षदेखि घरमा दूधबाट कुराउनी बनाउने र त्यसलाई बिक्री गर्दै आएका छन् ।

कुराउनी उत्पादन गरेर बिक्री गर्दासम्म पराजुली परिवारका तीनपुस्ता एकसाथ काममा खटिन्छन् । पराजुली परिवारले बनाएको कुराउनी गाउँमा मात्र हैन, तराईका बजारमा पनि लोकप्रिय छ । विषेशगरी कोसेलीका लागि कुराउनी मन पराउने धेरै छन् । वेदप्रसादको कुराउनी उद्योग लक्ष्मीनारायण दूध डेरीको नामले परिचित छ । घरेलु तथा साना उद्योग विकास समिति, सिन्धुलीमा दर्ता गरी सुरु गरेको यो कुराउनी उद्योगले अहिले पराजुली परिवारको रोजगारी र आम्दानीको स्रोत बनेको छ । दैनिक ३० देखि ४० किलो कुराउनी उत्पादन गरी बिक्री गर्दै आएको वेदप्रसादका माइलो छोरा तुलसीप्रसाद जानकारी दिए ।

उनले भने, “हरेक दिन बिहान झिसमिसेदेखि ११ बजेसम्म कुराउनी बनाउने चटारो हुन्छ । उत्पादन भएको कुराउनी बढी मात्रामा कोसेली पठाउन गाउँलेले नै किनेर लैजान्छन् । कुराउनी प्रतिकिलो थोक मूल्य पाँच सय र खुद्रा मूल्य ५५० रुपियाँमा बिक्री हुन्छ ।” घरका सबैले काम गरेकाले प्रतिकेजी दुई सय रुपियाँ बच्ने वेदप्रसादले बताए । उनका अनुसार गाउँले ३० किसानको दैनिक १५० लिटर दूध किन्ने गरिएको छ ।

झुलनले मोटरसाइकलमा कुराउनी बेच्न मिर्चैया, लहानसम्म पुग्नुहुन्छ । त्यतिधेरै प्रचार नभए पनि कुराउनी बिक्रीको समस्या नभएको झुलनले बताए । उनले भने, “धेरै वर्षदेखि शुद्ध दूधको कुराउनी बनाउने गरेकाले घरमै खरिद गर्न आउँछन्, बजारमा त मागअनुसारको पुर्याउन नै हम्मेहम्मे परेको छ । ”

२०५६ सालदेखि दूध बिक्री थालेका वेदप्रसादले त्यतिबेला कमला नदीमा पुल नहुँदा वर्षात्को सिजनमा दूध खेर जान थालेपछि कुराउनी बनाउन सुरु गरेका थिए । “तराईतिर यसलाई खुवा भन्दा रहेछन्, यो शुद्ध दूधबाट बनेको कुराउनी हो, खुवा हैन । यो सुगरको रोगीले समेत खान हुन्छ । यसमा चिनी हामी मिसाउँदैनौँ, घरमा लगेर मिसाएर खाए पनि हुन्छ,” उनले भने ।

सुरुमा कुराउनी बनाउने र बेच्न काम वेदप्रसादले एक्लै गर्थे, अहिले छोराबुहारी र नातिनातिनाले सघाउँदा उनी खुसी छन् । उनी यो व्यवसायबाट खुसी मात्रै होइन, सन्तुष्ट पनि छन् । “यो चोखो कमाइ हो, मेहनत त हुन्छ । खानेमान्छे पनि खुसी हुन्छन्, हामी पनि सन्तुष्ट छौँ,” उनले थपे । कुराउनीकै लागि उनको घरमा लैनो गाईभैँसी कहिले टुट्दैन । पराजुली परिवारको डेरीले दूध खरिद गर्ने भएपछि गाउँका अन्य किसान पनि गाईभैँसीपालनमा उत्साहित भएका छन् ।

स्रोत: गोरखापत्र

Comments

Back to top