बैंकको ब्याजदरप्रति अर्थमन्त्रीको चासो
अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति चासो व्यक्त गरेका छन् । उनले बैंकको व्याजदरमा व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल गरिएको बताए ।
ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफूले पहल थालेको बताए ।
उनले भने, ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायीअनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु । राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्नुहुँदैन पनि भनेको छु ।’
उनले चाँडै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने बताए । त्यस्तै उनले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य शृङ्खलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै विस्तारै सुधार भइरहेको बताए । ४७ वस्तुको आयातमा मार्जिन लगाएपछि कुल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने उनको भनाइ छ ।
Comments