फागुनमा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले वृद्धि, १७ अर्ब ऋण परिचालन
फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ । नेपाल बैंकर्स संघ (एनबीए) को तथ्यांकअनुसार फागुनमा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको हो । योसँगै फागुन मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । गत माघ मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो ।
गत माघमा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको थियो । गत पुस मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो । फागुन महिनामा १० बैंकको निक्षेप घटेको छ । नबिल, एभरेष्ट, सिद्धार्थ, लक्ष्मी, कुमारी, सिभिल, प्राइमलगायत बैंकको निक्षेप घटेको छ । माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु, एनआइसी एसिया बैंकको बढेको छ ।
यस अवधिमा ऋणमा भने राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया, नेपाल बैंक अगाडि छन् । राष्ट्रिय वाणिज्य बैंकले ७ अर्बले ऋण बढाएको छ । १० वटा बैंकको ऋण० घटेको छ। माछापुच्छ्रे, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन लगायतका बैंकले ऋण घटाएका छन् ।
फागुनमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १७ अर्ब रुपैयाँले बढेको छ । योसँगै फागुन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । गत माघ मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो । माघमा पनि बैंकहरुको कर्जा लगानी १२ अर्ब रुपैयाँले बढेको थियो ।
Comments