नियम विपरीत काम गर्ने १४ बैंकलाई राष्ट्र बैंकको कारबाही
राष्ट्र बैंकले नियम विपरीत काम गर्ने १४ वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले पुस मसान्तसम्ममा १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। कारबाहीमा पर्नेमा नेपाल बैंक, बाणिज्य बैंक, प्रभु बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई र नेपाल बंगलादेश बैंक रहेका छन् ।
यसैगरी, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबी बैंक पनि कारबाहीमा परेका छन् । कारबाहीमा परेकामध्ये प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात वैधानिक तरलता अनुपात कायम नगरेका कारण १ लाख ८० हजार ३४० रुपैयाँ जरिवाना गरेको छ ।
नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीइओ) लाई केन्द्रीय बैंकले सचेत गराएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यी बैंकहरुले बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन गरेका छन् । नेपाल बैंकले भने एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको खाता रोक्का राख्न दिइएको निर्देशन पालना गरेको थिएन ।
स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबी बैंकले कूल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५५ विन्दुभन्दा बढीले फरक गर्न नपाइने व्यवस्था उल्लघंन गरेपछि यी बैंकका सीइओहरुलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ ।
Comments