तरलता व्यवस्थापन गर्दा आन्तरिक ऋणको चाप बढ्दो

तरलता व्यवस्थापनमा आन्तरिक ऋणको चाप पर्ने देखिएको छ । सुधार हुँदै गइरहेको निक्षेपमा सरकारले बैंकिङ प्रणालीबाट ५ अर्ब खिच्दै गर्दा पुनः दबाब सिर्जना हुने देखिएको हो ।

नेपाल बैंकर्स संघका अनुसार पछिल्लो समय निक्षेप संकलनमा सुधार आइरहेको छ । संघका अनुसार माघ अन्तिममा वाणिज्य बैंकहरुमा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप मौज्दात रहँदा यो अंक बढेर अहिले ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । करिब १ महिना अवधिमा १५ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुको निक्षेप बढेको हो ।

पछिल्लो समय निक्षेप सुधार भइरहँदा तरलता व्यवस्थापनमा समेत केही सहजताको स्थिति सिर्जना हुनपुगेको छ । यसैलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय कम्पनीहरुले ब्याजदर समेत बढाएका छैनन् ।

गत माघ मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । हाल ४१ खर्ब रुपैयाँ रहेको देखिएको छ ।
सरकार बैंकिङ प्रणालीबाट आन्तरिक ऋणस्वरुप पाँच अर्ब रुपैयाँ लैजाने तयारीमा छ।

सरकारले पुरानो तिर्नुपर्ने पाँच अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल्स र सोहीबराबरको बिल्स नवीकरण अर्थात् ५ अर्बबराबरको नयाँ निष्काशन गरेको हो । कुल १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागिएको हो ।

आइतबार मात्र बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब ५८ करोड रुपैयाँबराबरको स्थायी तरलता सुविधा सापटी लिएका हुन् । बुधबार पाँच अर्ब रुपैयाँबराबरको ९१ दिने पुरानो ट्रेजरी बिल्सलाई नवीकरण गर्ने गरिएको छ । सोहीअनुसार सरकारले ३६४ दिने पाँच अर्ब रुपैयाँबराबरको नयाँ टेजरी बिल्स निष्काशन गरेको हो ।

सरकारले यसभन्दा अघि फागुन २३ गते निष्काशन गरेको दुई अर्ब रुपैयाँबराबरको २८ दिने र चार अर्ब २६ करोड रुपैयाँबराबरको ९१ दिने ट्रेजरी बिल्स निष्काशन गरेको हो । यो ट्रेजरी बिल्सकोे औसत डिस्काउन्ट रेट ७ दशमलव २२ प्रतिशत छ । सरकारले चालू आर्थिक वर्षमा कुल २ खर्ब ३९ अर्ब अन्तरिक ऋण उठाउने योजना बनाएको छ ।

Comments

Back to top