तरलता अभावः ७ प्रतिशतको हाराहारीमा चल्न थाल्यो अन्तरबैंक सापटी
तरलता अभाव समाधान हुन नसकेपछि बैंकहरुले अन्तरबैंक सापटीमा ७ प्रतिशतभन्दा बढी ब्याज तिर्न थालेका छन् । अभाव चर्किएपछि बैंकहरुले अन्तरबैंक सापटी महंगो ब्याजदरमा लिन थालेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुन २९ गतेसम्ममा बैंकहरुको अन्तरबैक सापटीको ब्याजदर ७ प्रतिशत भन्दा माथि पुगेको छ । आइतबार ७.०२ प्रतिशत पुगेको अन्तरबैंक ब्याज दर सोमबार केही घटेर ६.९९ प्रतिशत पुगेको थियो ।
गत एक महिना अघिसम्म अन्तरबैंक सापटीको ब्याजदर ५ प्रतिशतको हाराहारी थियो । मौद्रिक नीतिको अर्धवर्षिक समिक्षामा केन्द्रीय बैंकले स्थायी तरलता सुविधा, बैंक दर लगायतको ब्याजदर बढाएपछि बैंकहरुले पनि अन्तरबैंक सापटीमा ७ प्रतिशतसम्म ब्याज दर हाल्न थालेका थिए ।
बैंकहरुले ५ प्रतिशतको सिमा नाघेर अन्तरबैक सापटी लिन थालेपछि केन्द्रीय बैंकले उक्त सिमालाई बढाएर ७ प्रतिशत पुर्याएको हो ।
अहिले नेपाल राष्ट्र बैंकको ब्याजदर करिडोरको व्यवस्था अनुसार बैंकहरुको अन्तरबैंक सापटीको ब्याजदरको माथिल्लो सिमाको रुपमा ७ प्रतिशतलाई कायम गरेको छ । अहिले बैंकहरु दैनिक रुपमा तरलता व्यवस्थापन गर्न ७ प्रतिशत आसपास ब्याज तिरेर नै अन्य बैंकहरुसँग सापटी लिन बाध्य भएका हुन् ।
Comments