क्यान इन्फोटेक २०२२ को ८० प्रतिशत स्टलहरु बुक
आगामी वैशाख ७ गतेदेखि वैशाख १२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने आइएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यूआरको ८० प्रतिशत स्टल बुकिङ पूरा भएको छ।
सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औँ संस्करण यसअघि कोभिड १९ तथा सोहीसम्बन्धी नेपाल सरकारका निर्णयहरुलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको एवं विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी योपटक काठमाण्डौमा मात्र हुने भएको छ। गत वर्ष प्रदर्शनी आयोजना हुन नसकेका कारण पनि यो पटक प्रदर्शकहरु एवं सम्बन्धित सरोकारवालाहरुमा उत्साह देखिएको छ।
यो पटकको इन्फोटेकमा ब्रान्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, रोबोटिक्स, ई–वेस्ट म्यानेजमेन्ट, वाईफाई, इन्टरनेट, लर्निङ सेन्टर, देशभित्रका स्टार्टअप, मोबाइल, आईटी कलेज र नवीनतम सोचमा आधारित रहेर सूचना प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीद्वारा निर्मित प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य आकर्षण हुने देखिएको छ।
स्टल बुकिङका आधारमा प्रदर्शकहरुले विश्व बजारमा हालसालै आएका एवं उपलब्ध नवीनतम प्रविधिका साथसाथै अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युसन, मोबाइल फोन तथा एक्सेसरिज, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युसन, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युसन, सीसीटीभी र हार्ड डिस्कजस्ता उत्पादनहरुका पछिला संस्करणहरु प्रदर्शनीमा राख्ने बताएका छन्।
त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, सूचना प्रविधिमा आधारित कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रदर्शनीमा रहने गरी प्रदर्शकहरुले तयारी गरेका छन्।
२७ औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आइएमई पे, एसोसिएट प्रायोजकमा एससीटी स्मार्ट क्यूआर तथा टिकट पार्टनरमा आइएमई पेले प्रायोजन गरेको छ भने प्लाटिनम प्रायोजन वर्ल्डलिंक कम्युनिकेसन, डायमन्ड प्रायोजन डिस होम फाइबरनेट, सिल्भर प्रायोजनमा एस पावर, नमस्ते पे, डिजिकम र ब्रोडवे इन्फोसिसले गरेको छ। इन्नोभेसन पार्टनर सनवे बिजनेस सकुल, एकेडेमिक पार्टनर सफ्टवेरिका कलेज, डिजिटल डिस्प्ले पार्टनर अल्ट्रा लेड, भर्चुअल प्रदर्शनी पार्टनर मण्डला सिस्टम, फुड एन्ड बेभरेज पार्टनर रेवान रहेको उक्त प्रदर्शनीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सुबिसु केवलनेट, भायानेट, नेपाल मोबाइल डिस्ट्रिब्युटर एसोसियसन जस्ता संस्थाको पनि सहयोग रहेको छ।
Comments