तरलता अभाव र ब्याज वृद्धिको असर परेन घरजग्गा कारोबारमा, फाल्गुनमा बढ्यो किनबेच

बैंकहरुले कर्जामा गरेको कडाई र ब्याजदर बढ्दासमेत फागुनमा घरजग्गा कारोबार बढेको छ। तरलता अभावका कारण बैंकहरुले ऋण दिन छाडेका छन्। कसैले ऋण दिइहाले पनि ब्याज महँगो छ। तैपनि घरजग्गा कारोबार बढेको हो।

पुस र माघ महिनामा सो कारोबार घटेको थियो। फागुनमा भने घरजग्गा कारोबारसँगै राजस्व संकलन पनि बढेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्यांकअनुसार फागुनमा लिखत पारित ह्वात्तै बढेको छ। माघको तुलनामा फागुनमा लिखत पारित १४ हजार ५२० ले बढेको छ।

पुसमा ७० हजार १६८ रहेको लिखत पारित माघमा घटेर ५९ हजार ५१६ पुगेको थियो। फागुनमा बढेर ७४ हजार ३६ पुगेको विभागले जनाएको छ।

अधिकांश मालपोत कार्यालयबाट हुने लिखत पारित महिनैपिच्छे घट्दै गएकोमा फागुनमा भने उकालो लागेको छ। पुसको तुलनामा माघमा घरजग्गाको लिखत पारित १० हजार ६ सय ५२ ले घटेको थियो।

भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट फागुनमा ३२८६ लिखत पारित भएको छ। माघमा यो संख्या २८०७ थियो। इनरुवा पछि मोरङको बेलबारी मालपोतमा २८७२ लिखत पारित भएको छ। माघमा पनि बेलबारी नै इनरुवा पछि रहँदै २५३६ लिखत पारित गरेको थियो।

फागुनमा जनकपुरधाम मालोपोत कार्यालयलाई पछि पार्दै झापाको भद्रपुर मालपोतले २७७२ लिखत पारित गरेको विभागले जनाएको छ। जनकपुर चौथोमा रहँदै फागुनमा २४९६ लिखत पारित गरेको छ।

बाँके नेपालगञ्जले २४४९, लगनखेलले २१६७, भक्तपुरले २०३६, काभ्रेले १९३०, कलंकीले १८३२ लिखत पारित गरेका छन्। यस्तै, चितवनले १७५८, मकवानपुरले १७२२, विराटनगरले १५७८, दमकले १४७५, राजविराजले १४६४, तुलसीपुरले १४०३ लिखत पारित गरेको विभागले जनाएको छ।

जग्गाको भाउ थप बढ्छ भनेर आफैसँग भएको पैसाले खरीद गर्ने क्रम बढेर कारवार बृद्धि भएको हो। घरजग्गा किनबेचलाई सहकारी संस्थाहरुले पनि फाइनान्स गरेका छन्। यसले गर्दा पनि बढेको छ। कतिपय अवस्थामा अनौपचारिक माध्यममा रहेको पैसा जग्गामा लगानी हुँदा कारोबार बढेको हो।

प्लटिङ गर्नेहरु र ऋणमा जग्गा किनेकाहरुले नियामकीय कडाइका साथै ब्याज बृद्धिले जग्गा किनबेच हुँदेन भनेर दुई पैसा घटाएर पनि बिक्रीमा राखेका छन्। यसमा पैसा हुने जमात आकर्षित भएर पनि कारोबार बढेको हो।

फागुनमा ६ अर्ब नाघ्यो घरजग्गाबाट उठ्ने राजस्व

तरलता अभावसँगै घरजग्गाको अस्वाभाविक र अनियन्त्रित मूल्यका कारण माघमा सरकारले घरजग्गाबाट ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेकोमा फागुनमा ६ अर्ब २६ करोड संकलन गरेको छ।

मंसिरमा घरजग्गा कारोबारबाट राज्यले ७ अर्ब ६ करोड ६५ लाख रुपैयाँ संकलन गरेकोमा पुसमा घटेर ६ अर्ब ७० करोड रुपैयाँमा थियो। माघमा फेरी घटेको राजस्व फागुनमा भने उकालो लागेको छ।

फागुनमा पनि सबैभन्दा धेरै राजस्व लगनखेल मालपोत कार्यालयले उठाएको छ। माघको तुलनामा फागुनमा लगनखेलले उठाउने राजस्व केही घटेको छ। फागुनमा लगनखेल मालपोतले ५४ करोड २२ लाख रुपैयाँ उठाएको छ। माघमा लगनखेल मालपोतले ५४ करोड ३६ लाख रुपैयाँ राजस्व उठाएको थियो।

लगनखेल पछि डिल्लीबजार मालपोतले बढी राजस्व संकलन गरेको छ। फागुनमा यो कार्यालयले ४५ करोड ३२ लाख रुपैयाँ उठाएको छ। डिल्लीबजारले माघमा ४३ करोड ८६ लाख रुपैयाँ राजस्व उठाएको थियो।

फागुनमा कलंकी मालपोतले ३९ करोड १६ लाख रुपैयाँ, भक्तपुरले ३८ करोड ६२ लाख रुपैयाँ, चाबहिलले ३८ करोड ३५ लाख रुपैयाँ, चितवनले १६ करोड २८ लाख रुपैयाँ, काभ्रेले १५ करोड ९६ लाख रुपैयाँ, साँखुले १५ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ।

यस्तै,मनमैजुले १३ करोड २९ लाख रुपैयाँ, विराटनगरले १३ करोड, पर्साले १२ करोड ६८ लाख, कास्कीले १२ करोड ४५ लाख, टोखाले ११ करोड २९ लाख, नेपालगञ्जले ११ करोड रुपैयाँ र इनरुवा मालपोतले १० करोड बढी राजस्व उठाएको विभागले जनाएको छ।

Comments

Back to top