उपभोक्ता अधिकार कागजमै सीमित, आज विश्व उपभोक्ता अधिकार दिवस मनाईदै

आज अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाईदै छ । नेपालमा भने उपभोक्ताको अधिकार कागजमै सीमीत छ । विश्वका घटनाक्रमलाई देखाउँदै नेपालमा मूल्यवृद्धि हुने क्रम जारी छ । उपभोक्ता हकहितका बारे नेपाली त्यति जानकार पनि छैनन् । विश्वका घटनाक्रमलाई देखाउँदै नेपालमा मूल्यवृद्धि हुने क्रम जारी छ ।

हजारौँ किलोमिटर टाढा रहेको युक्रेनमाथि रुसको सैनिक हमलाको प्रभाव नेपालीको जनजीवनमा पनि परेको छ । युक्रेन सङ्कटका कारण अहिले पेट्रोलियम पदार्थ र सुनचाँदीको मूल्य मात्रै होइन, अति आवश्यकीय खाद्यवस्तु खाने तेल, चिनी, दलहनलगायतका उपभोग्य वस्तुको मूल्य उच्चदरमा वृद्धि भएको छ । पछिल्लो समयमा सनफ्लावर तेल बजारमा अभाव हुन थालिसकेको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दिनमा खाने तेललगायत अन्य खाद्यवस्तु उच्चदरमा मूल्य वृद्धि भएको छ । पछिल्ला केही दिनदेखि बजारमा सनफ्लावर तेलको अभाव नै हुन थालेको सङ्घले जनाएको छ । सङ्घका महासचिव आमूल तुलाधरले बजारमा कुनै पनि वस्तुको यथार्थ बिलबिजक पाउन नसक्ने समस्या हुँदासमेत बजार अनुगमन गर्ने सरकारका नियमनकारी निकाय मौन रहेको आरोप लगाए ।

बजारमा खाने तेल मात्रै होइन, डिजेल/पेट्रोलको मूल्य वृद्धिले ढुवानी भाडा बढेको भन्दै सबै खाद्यवस्तुको मूल्य वृद्धि भएको उनको भनाइ छ । “ढुवानी लागतले कति मूल्य बढ्नुपर्ने हो त्यो विषयमा सरकारका नियमनकारी निकायले अनुगमन गर्नुपर्दैन ?” महासचिव तुलाधरले प्रश्न गरे । सरकारको बजार अनुगमन सानालाई तर्साउने र ठूलालाई संरक्षण गर्ने प्रवृत्तिले बजारमा बेथिति झन्झन् मौलाउँदै गएको पनि उनको आरोप छ ।

उपभोक्ता अधिकारकर्मी पनि सरकारको बजार अनुगमन समस्याको मुहानमा हुन नसकेको बताउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नौ महिनादेखि विभागीय मन्त्रीविहीन हुनुले हरेक उपभोक्तासँग जोडिएका विषयमा सरकारको प्राथमिकतामा नपरेको प्रस्ट भएको बताए । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन उजुरीमा सीमित हुँदा बजार व्यापारीको नियन्त्रणमा रहेको उनको आरोप छ ।

Comments

Back to top