सुन्तला बिक्रीबाट पच्चीस करोड आम्दानी

चालू आर्थिक वर्षमा तनहुँका कृषकले सुन्तला बिक्री गरेर २५ करोड रुपियाँ आम्दानी गरेका छन् ।तनहुँका छ स्थानमा रहेका सुन्तला ब्लक र कृषकका बगैँचामा यस वर्ष आठ हजार ५८० मेट्रिक टन सुन्तला उत्पादन गरी उक्त आम्दानी गरेको कृषि ज्ञान केन्द्र, तनहुँका कृषि अर्थविज्ञ प्रकृति न्यौपानेले जानकारी दिए । उनका अनुसार जिल्लामा एक हजार ७५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती छ भने एक हजार ४५० हेक्टरमा उत्पादन हुँदै आएको छ ।

केन्द्रका कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले यस वर्ष सुन्तलाको उत्पादन वृद्धि भएको बताए । व्यास नगरपालिकाको पोखरीभञ्ज्याङ, म्याग्दे गाउँपालिकाको उमाचोक, नाम्सीकोट, देवघाट गाउँपालिकाको वडा नं. ३ र ४, दुभुङ, अर्चल्दीलगायतका क्षेत्रमा सुन्तला खेती फस्टाएको उनले जानकारी दिए ।

गत वर्ष तनहुँमा २४ करोड रुपियाँको सुन्तला बिक्री भएको थियो । सुन्तलाको फल लाग्ने समयमा पर्याप्त वर्षा हुनुका साथै असिना कम परेकाले यस वर्ष उत्पादनमा वृद्धि भएको केन्द्रले जनाएको छ । सुन्तला खेतीको राम्रो सम्भावना रहेको यस जिल्लामा विभिन्न क्षेत्रमा रहेका सुन्तला पकेट क्षेत्रलाई ब्लकका रूपमा विस्तार गरी प्रवर्द्धन गर्न थालिएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–२, उमाचोकमा रहेको सुन्तला उत्पादक ब्लक समिति, शुक्लागण्डकी नगरपालिका–११, नाम्सीकोटको सुन्तला जात फलफूल उत्पादक ब्लक सञ्चालक समिति, व्यास नगरपालिका–१३ मा रहेको सुन्तला ब्लक समिति, देवघाट गाउँपालिकामा घण्टाचुली बहुउद्देश्यीय कृषक समूह र आँबुखैरेनी गाउँपालिकामा पतेनी सुन्तला उत्पादक कृषक समूह रहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। चालू आर्थिक वर्ष ऋषिङ गाउँपालिका–३ मा पनि सुन्तला उत्पादन ब्लक निर्माण गरिएको छ ।

सुन्तला उत्पादनको सम्भावित क्षेत्रका कृषकलाई आवश्यक तालिमसहित बीउबिरुवा अनुदान लिएर सुन्तला खेती गर्न प्रोत्साहन गरिएको उनले जानकारी दिए । तनहुँको सुन्तला स्वादिष्ट हुने भएकोे काठमाडौँ पोखरा, नारायणगढलगायतका प्रमुख सहरमा माग धेरै हुने गरेको छ । सुन्तलाका ठेकदार कृषकको बगैँचामा नै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।

Comments

Back to top