चैतमा वाणिज्य बैंकहरुको ब्याजदर नबढ्ने घोषणा
चैत महिनामा बैंकहरुको ब्याजदर नबढ्ने भएको छ । बैंकर्स संघको कार्यसमितिको बैठकले यसअघि फागुनका लागि तोकेको ब्याज दरलाई निरन्तरता दिने निर्णय गरेको हो ।
चौतर्फी रुपमा ब्याज वृद्धिको विरोधपछि बैंकर्स संघले पुरानै ब्याजलाई निरन्तरता दिने निर्णय गरेको हो । यसअघि फागुनमा साधारण मुद्दतीको अधिकतम ब्याज ११.०३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपकर्ताले १०.०३ प्रतिशत ब्याज तोकिएको थियो । रेमिटेन्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याज पाउनेछन् । चैतका लागि पनि सोही ब्यजादर कायम हुने संघको भनाइ छ ।
बैंकहरुले चैत १ गतेबाट लागू हुने ब्याज फागुन मसान्तमा प्रकाशित गर्ने छन् । फागुनमा १०.०५ प्रतिशत रहेको मुद्दतीको ब्याज ११.०३ प्रतिशत पुर्याइएकाले लागत वृद्धि भइसकेको छ । नयाँ ऋणीको ब्याज माथि पुग्न थालिसकेको छ ।
निक्षेपको ब्याजदर बढाउँदा कर्जाको ब्याजदरमा समेत असर गर्छ । हरेक तीन–तीन महिनामा बैंकहरुले आधार दर सार्वजनिक गर्नुपर्ने नियम छ । निक्षेपको ब्याजदर बढ्दा आधार दर बढ्ने हुन्छ, जसको प्रत्यक्ष असर ऋणको ब्याजदरमा समेत पर्छ ।
Comments