यस्तो थियो नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको प्रेरणादायी जीवनी
वि.सं. १८७१ आषाढ २९ गतेका दिन नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागेपछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमीका दिन भानुभक्तलाई अक्षरारम्भ गराएका थिए ।
दस बर्षको उमेरमा भानुभक्तको विवाह चन्द्रकान्तादेवीका साथ भएको थियो । विवाह भएको केही महिनापछि चन्द्रकान्ताको मृत्यु भयो । लगत्तै उनको दोश्रो विवाह एघार वर्षको उमेरमा तनहुँ जिल्लाको मानुङ्ग गाउँकी चन्द्रकलादेवीसँग भयो । जीवनको अन्तिम घडीमा काशीमा देह त्याग गर्ने बाजेको इच्छा अनुसार भानुभक्त आफ्ना बाजे श्रीकृष्णका साथ काशी गएका थिए । वि.सं. १८८९ तिर बाजे श्रीकृष्णले काशीमा देह त्याग गरेपछि भानुभक्त आफ्नो गाउँ फर्किएका हुन् ।
काशीबाट आफ्नो गाउँ फर्कंदा उनी १९ वर्षका थिए । काशी वसाईको समयमा उनले त्यहाँ शास्त्रीय अध्ययन समेत गरेका थिए । साथै काशीमा विद्वानहरुका संगतले यिनमा गजबको कवित्व शक्ति जागृत भईसकेको थियो । उनी समय पाउना साथ प्रसंग अनुसार रमाइला फुटकर रचनाहरु लेख्ने गर्थे ।
पछि उनै भानुभक्त नेपाली साहित्यमा आदिकविका नामले परिचित छन् । उनको अथक प्रयासले संस्कृतमा लेखिएको रामायण नेपाली भाषामा अनुवाद भयो । पछि युवाकवि मोतिराम भट्टले भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणलाई प्रकाशन गराए । यसपछि भने नेपालीमा लेखिएको रामायणलाई हरेकजसो नेपालीले लय हाली हाली कण्ठ पार्न थाले । धेरैका घरघरमा रामायण पुग्यो ।
भानुभक्तले यति मात्र गरेनन् , उनको समयमा नेपाली साहित्यले थप उर्जा प्राप्त गर्यो । लुकेको साहित्यले समाजलाई मार्गनिर्देश गर्न सक्यो । जीवनमा भानुभक्तले केही फुटकर कविताहरु लेखे । उनका चर्चित रचनाहरुमा प्रश्नोत्तर, बधूशिक्षा, भक्तमाला जस्ता लघुकाव्य र रामायण महाकाव्य मुख्य छन् । यसरी नेपाली साहित्यका पुराना कवि भएकाले उनलाई आदिकवि भनिएको हो ।
उनको जीवनीसँग धेरै रोचक प्रसंगहरु जोडिएका छन् । एकपटक उनले एउटा घाँसीसँग भेटेका थिए । घाँसीले दिनभरि घाँसकाटेको देखेपछि भानुभक्तले सोधे, घाँसी तिमी यो घाँसले के गर्छौ ? जवाफमा घाँसीले आफूले काटेको घाँस बेचेर नजिकै एउटा कुवा खनाएको बतायो । घाँसी आफैं गरिब थियो, तैपनि उसको समाजसेवा आफैंमा उदाहरणिय पनि थियो । घाँसीले घाँसदाउरा गरेर आर्जन गरेको रकमले कुवा खनाएको जानकारी भानुभक्तलाई दिए । घाँसीको कुराले भानुभक्तको मन छोयो । अनि उनले कविता लेखे: –
भर्जन्म घाँसतिर मन दिइ धन कमायो ।
नाम क्यै रहोस पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ।।
मेरा इनार न त सत्तल पाटि क्यै छन् ।
जे छन् र चीजहरु छन् घरभित्र नै छन् ।।
तेस् घाँसीले कसरी आज दिएछ अर्ती ।
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।।
अहिले पनि तनहुँमा घाँसीकुवा रहेको छ । उनी मरेर गएपनि नेपाली साहित्यलाई अतुलनिय योगदान दिएर गएका छन् । उनको प्रेरणादायी जीवनीबाट हरेक नेपालीले धेरै कुरा सिक्न सकिनेछ । यस्ता महान् व्यक्तिको विसं. १९२५ आश्विन शुक्ल पञ्चमीका दिन ५४ बर्षको उमेरमा निधन भयो ।
एजेन्सी
Comments