टिकटकमा प्रतिबन्ध नलगाउने ट्रम्पको सङ्केत
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटक सञ्चालनमै राख्ने सङ्केत गरेका छन् । एरिजोनाको फीनिक्समा कन्जरभेटिभ सङ्गठन टर्निङ प्वाइन्ट युएसएले आयोजना गरेको एक कार्यक्रममा ट्रम्पले भने लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई अमेरिकामा बन्द नगर्ने सङ्केत गरेका हुन् ।
ट्रपले राष्ट्रपति चुनावमा केही प्रमुख मतदातासम्म पुग्न टिकटकले धेरै मद्दत गरेको बताएका छन् । उनले टिकटकलाई केही समयका लागि सञ्चालनमै राख्ने सम्भावना रहेको उल्लेख गरेको पनि चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चुनावको बेला टिकटकमार्फत प्रचार गर्दा राम्रो प्रतिक्रिया आएको र भिडियो अर्बौ पटक हेरिएको ट्रम्पले बताएका छन्। आफूले देखेको एउटा ग्राफ अनुसार आफ्ना विचार टिकटकमा सबैभन्दा धेरै हेरिएको पनि ट्रम्पको भनाइ छ ।
प्रयोगकर्ताको गोपनीयता भङ्ग गरेको र राष्ट्रिय सुरक्षामै खतरा देखिएको भन्दै गएको अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकको मातृ कम्पनी बाइटडान्सलाई टिकटक बेच्नका लागि दुई सय ७० दिनको समय दिने कानून बनाएका थिए ।
एजेन्सी
Comments