‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेकाे यस्ताे छ जीवनी

माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनी जन्मिएको तीन वर्षमा उनकी आमा बितिन् । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरेका थिए ।

११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरेका थिए । त्यसपछिको अध्ययनका लागि उनी बनारस गएका थिए । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।

उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीति नाटक, कथा, अनुवाद लेख जस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन् ।

उनी १४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं. १९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरेका थिए । घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि थिए । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे ।

त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए । उनले वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए ।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ नारायण गोपालले गाएका छन् । उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे ।

वि.सं. २००४ सालमा उनको जीवनसंगिनी गौरीको निधन भयो ।

उनको काविक यात्राको पहिलो कृति नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर छ । गौरी राष्ट्रकवि माधव घिमिरेद्वारा लेखिएको शोककाव्य हो । साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू संग्रहित छन् ।

माधव घिमिरेद्वारा लेखिएका कृतिहरू मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह) चर्चामा छन् । यसैगरी उनले चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लेखेका छन् ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि.सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो । उनलाई वि.सं. २०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको छ ।

वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार तथा वि.सं.२०५८ सालमा चारु चर्चा (निबन्ध) का लागि साझा पुरस्कार दिएइको थियो । प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन् । उनलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको छ ।

२०७७ भदाै २ गतेका दिन १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा उनको निधन भएको हो ।

एजेन्सी

Comments

Back to top