सामाजिक सुरक्षा कोषले विदेशमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा छोराछोरीको उपचार खर्च पनि बेहाेर्ने

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीले समेत स्वास्थ्य उपचारको सुविधा पाउने भएका छन् ।

सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आज भएको कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष ननाघेका छोराछोरीका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए।

कार्यकारी निर्देशक अधिकारीले कोषमा हिजो सोमवारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आबद्ध भएका जानकारी दिए । उनले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबीबापत ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र उनीहरूका परिवारलाई भुक्तानी गरिसकेको पनि बताए ।

काेषका कार्यकारी निर्देशक अधिकारीले कोषको दायरा विस्तारका लागि कोषको केन्द्रीय कार्यालयका साथै विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको जानकारी दिए । यही आर्थिक वर्षभित्र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि कार्यालय स्थापना गर्ने योजना रहेको कोषले जनाएको छ । यी कार्यालय स्थापनापछि कोषको सात वटै प्रदेशमा पहुँच पुग्नेछ ।

सामाजिक सुरक्षा कोषमा अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको सङ्ख्या ९० वटा छ ।

एजेन्सी

Comments

Back to top