जग्गा जालसाजी आरोपमा वडाध्यक्षसहित ७ जना पक्राउ
जग्गाधनीलाई पत्तो नदिई जग्गा रजिस्ट्रेसन पास गरेको आरोपमा संखुवासभा भोटखोलाका वडाध्यक्षसहित ७ जना पक्राउ परेका छन् । प्रहरीले दुई महिलासहित ७ जनालाई शनिबार सार्वजनिक गरेको हो । भोटखोला गाउँपालिका ४ का वडाध्यक्ष किङ्साङ भोटे, सुरेन्द्र तामाङ, कल्पना भोटे, डिमालाजुङ भोटे, अनिस गुरुङ, पासाङ शेर्पा र महेन्द्र पराजुलीलाई सार्वजनिक गरेको हो ।
डिएसपी लालध्वज सुवेदीका अनुसार वडाध्यक्ष किङ्साङ भोटे र उनका साथीहरुको मिलोमतोमा बिममाया तामाङको २७ रोपनी जग्गा अरुकै नाममा फागुन २ गते रजिस्ट्रेसन पास गरिएको छ । पक्राउ परेका भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
सुवेदीका अनुसार उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाईफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ ।
मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको अनुसन्धानले देखाएको छ । पक्राउ परेकाहरुलाई ठगी र किर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ । २७५ कित्ताको जग्गा पासाङ शेर्पाको एकल नाममा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त रजिस्ट्रेसन पास गरिएको छ ।
Comments