सात महिनामा २३९ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् ०७८ माघ मसान्तसम्म कुल २३९ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएकामा १७७ संस्थाको इजाजत खारेज भई ६२ संस्था कायम भएका छन्।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को सात महिनाको तथ्याङ्कमा आधारित भएर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा साे कुरा उल्लेख छ ।
तरलता व्यवस्थापन
चालु आवको सात महिनामध्ये पहिलो महिनामा ‘रिभर्स रिपो’ मार्फत २८ अर्ब ३५ करोड र निक्षेप सङ्कलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरि कुल ६० अर्ब तरलता प्रशोचन गरिएको छ। अघिल्लो वर्षको सात महिनाको अवधिमा रिभर्स रिपोमार्फत ८९ अर्ब ५४ करोड र निक्षेप सङ्कलन उपकरणमार्फत १ खर्ब ९३ अर्ब ७५ करोड गरि कुल २ खर्ब ८३ अर्ब २९ करोड तरलता प्रशोचन भएको थियो।
समीक्षा अवधिमा रिपोमार्फत तीन खर्ब ४२ अर्ब ९३ करोड, सोझै खरिद उपकरणमार्फत २७ अर्ब २२ करोड र स्थायी तरलता सुविधामार्फत ३७ खर्ब १५ अर्ब ९० करोड गरि कुल ४० खर्ब ८६ अर्ब चार करोड तरलता केन्द्रीय बैंकले प्रवाह गरेको थियो।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) मा अमेरिकी डलर ९० करोड २२ लाख खुद खरिद गरि १ खर्ब ८ अर्ब ३२ करोड तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब २४ करोड खुद खरिद गरि २ खर्ब ६४ अर्ब ४९ करोड तरलता प्रवाह गरिएको थियो ।
त्यसैगरी समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ६४ करोड बिक्री गरि तीन खर्ब १५ अर्ब नौ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ४० करोड बिक्री गरि २ खर्ब ८३ अर्ब ४० करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको प्रतिवेदनमा जनाइएको छ।
Comments