धागो उद्योगले जन्माएको गाडी कम्पनी, यसरी बन्यो विश्वकै पहिलो रोजाई

सन् १९३३ मा जापानका एक उद्यमीले तान उद्योग खोले । तर, उनका छोरा किचिरो टोयोडाको नेतृत्वमा उक्त तान उद्योगले गाडी उत्पादन थाल्यो । चीनसँगको युद्धताका जापानी सरकारले आफ्नै देशमा गाडी उत्पादन गर्नका लागि उक्त तान उद्योगलाई प्रेरित गरेको थियो । आज त्यही उद्योगका उत्पादनहरू टोयोटा र अन्य ब्राण्डका नामले विश्वविख्यात छन् । र, उक्त उद्योग विश्वकै सबैभन्दा ठूलो गाडी उत्पादक कम्पनी भएको छ ।

सन् २००८ मा पहिलोपटक विश्वको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी बनेको ‘टोयोटा मोटर कर्पोरेशन’ टोयोटा ग्रुपको माउ जापानी कम्पनी हो । यो कम्पनीको ६ सय हाराहारी सहायक कम्पनीहरू गाडी, तिनका पार्टपूर्जा, ब्यावसायिक र औद्योगिक गाडीहरू बनाउने काममा संलग्न छन् । कम्पनीको केन्द्रीय कार्यालय जापानको औद्योगिकसहर नागोयामा अवस्थित छ ।

टोयोटा मोटर कर्पोरेशन ‘टोयोडा अटोमेटिक लूम वक्र्स’ नामको कपडा बुन्ने कम्पनीको शाखाको रुपमा सन् १९३३ मा स्थापना भएको हो । शाखाले सन् १९३६ मा एए सेडान मोडलको गाडी उत्पादन गरेको थियो । अर्को वर्षमा उक्त शाखाले ‘टोयोटा मोटर कम्पनी’को रुप धारण गर्यो । त्यसपछि कम्पनीले ‘टोयोडा मेशिन वक्र्स’, ‘टोयोटा अटो बडी’ जस्ता सम्बन्धित कम्पनीहरूको स्थापना गर्यो । यद्यपि, विश्वयुद्धपछि कम्पनी आफ्नो सम्पूर्ण क्रियाकलाप बन्द गर्न बाध्य भयो । 

सन् १९५० पछि कम्पनीका सम्पूर्ण कारोबार र कारखानाहरू सञ्चालनमा आउन थाले । र, आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि कम्पनीले प्राविधिक र आर्थिक क्षमता उच्च भएका अमेरिकी गाडी उत्पादक कम्पनीहरूकाबारेमा गम्भीर अध्ययन सुरु गर्यो । फोर्ड मोटरलगायत कम्पनीका कारखानाहरूमा टोयोटाका कार्यकारीहरूले नयाँ उत्पादन प्रविधि र आफ्नो कारखानामा त्यसको सफल प्रयोगका लागि निरन्तर भ्रमणहरू गरे । यसले कम्पनीको उत्पादकत्वमा धेरै बृद्धि गरायो ।

सन् १९५७ मा ‘टोयोटा मोटर सेल्स यूएसए’ को स्थापना भयो । र, अर्को वर्ष कम्पनीले ‘टोयोपिट सेडान’ नामको मोडल बजारमा ल्यायो, जुन बजारमा खासै जम्न सकेन । उच्च मूल्य र हर्स पावरका कमजोर भएका कारण मोडल बजारमा जम्न नसकेको बताइन्छ । त्यसपछि कम्पनीले सन् १९५८ मा ‘ल्याण्ड क्रुजर’ बजारमा ल्यायो । क्रुजरले भने केही सफलता हासिल गर्यो । त्यसपछि अघिल्लोपटक बजारमा सफलता हासिल गर्न नसकेको ‘टोयोपिट’ लाई पूरै फरक डिजाइनमा ढालेर र अमेरिकी चालकहरूको आंकाक्षालाई समेत ध्यानमा राखेर ‘टोयोटा कोरोना’ बजारमा ल्यायो । यसलाई कम्पनीको अमेरिकी बजारमा पहिलो ठूलो सफलता मानिन्छ ।

सन् १९६० र ७० को दशकमा कम्पनी तिब्र रफ्तारमा विस्तार हुनथाल्यो र ठूलो संख्यामा गाडीहरू विदेशमा निर्यात गर्न थाल्यो । कम्पनीले यही दौरान बस र ट्रक निर्माता कम्पनी ‘हिनो मोर्टस’, इलेक्ट्रीक भेकल उत्पादक ‘निपोनडेन्सो कम्पनी’ र ‘डाइहात्सु मोटर कम्पनी’ समेत खरिद गर्यो । 

त्यसपछिका वर्षहरूमा कम्पनीले खासै पछाडी फर्केर हेर्नुपरेन । कम्पनीले कैयौं दशकसम्म जापानको ठूलो गाडी उत्पादक कम्पनीको ठाउँ ओगट्यो भने अमेरिकी बजारमा पनि आफ्नो पकड जमायो । कम मूल्य, इन्धनको कम खपत र विश्वसनीय गाडीहरूका कारण कम्पनीले विश्व बजारमा आफ्नो छवि उकास्दै लग्यो । सन् १९६८ मा अमेरिकामा सार्वजनिक भएको ‘कोरोला’ यसैको एक उदाहरण हो ।

कम्पनीको हालको नाम भने सन् १९८२ मा रहन गएको हो, जब टोयोटा मोटर कम्पनी र टोयोटा मोटर सेल्स एकआपसमा मर्ज भए । 

कम्पनीले गत शताब्दीको अन्त्यतिर पनि उल्लेख्य बृद्धि हासिल गर्यो । सन् १९८९ देखि उत्पादन सुरु भएको लक्जरी ब्राण्ड ‘लेक्सस’ त्यही समयको आविष्कार हो ।

सन् १९९९ मा कम्पनी लन्डन स्टक एक्सचेञ्ज र न्यूयोर्क स्टक एक्सचेञ्ज दुवैमा सूचीकृत भयो । त्यसपछि पनि कम्पनीले आफ्नो बृद्धिको गतिलाई कायमै राख्यो । कम्पनीले विभिन्न उमेर समूह र वर्गलाई लक्षित गर्दै उत्पादनहरू बढाउँदै लग्यो । तीमध्ये कम्पनीले सन् २००३ मा युवाहरू लक्षित गर्दै उत्पादन थालेको ‘स्कियोन’ ब्राण्ड र सन् २००५ मा सार्वजनिक गरेको विश्वकै पहिलो लक्जरी ‘हाइब्रिड’ कार ‘लेक्सस आर एक्स ४०० एच’ उल्लेख्य छन् ।

कम्पनीले आजसम्म आइपुग्दा आर्थिक समस्या नझेलेको भने होइन । सन् २००८ को विश्वब्यापी आर्थिक मन्दीताका कम्पनीको ब्यापारमा उल्लेख्य कमी आएको थियो । त्यसपछि लगत्तै सन् २०१० मा कम्पनीले सुरक्षाका कारण बजारमा गैसकेको करिब ८० लाख गाडीहरूलाई फिर्ता ल्याउनुपरेको थियो भने आफ्ना चर्चित मोडलहरूको समेत उत्पादन र ब्यापार स्थगित गर्नुपरेको थियो ।

सन् २०१४ मा पनि कमसल ‘एयर ब्याग’ आदिको कारण देखाउँदै अमेरिकी अधिकारीहरले टोयोटाको लाखौं गाडीहरू फिर्ता पठाएका थिए । उक्त ‘रिकल’ लाई अमेरिकी इतिहासकै सबैभन्दा ठूलो र जटिल ‘सेफ्टी रिकल’ को रुपमा लिइन्छ ।

आज टोयोटाको विभिन्न देशमा छरिएका प्लान्ट र वितरकहरू रहेका छन् । गाडीका पार्टपूर्जाका अलावा कम्पनीका सहायक कम्पनीहरूले रबर, स्टील, कटन, उन आदिको पनि उत्पादन गर्छन् । अन्य केही कम्पनीहरूले घरजग्गाको कारोबारदेखि ‘प्रिफ्याव’ घर बनाउने र कच्चा पदार्थहरूको आयात निर्यातसमेतको काम गर्छन् ।

नेपालमा ब्यावसायिक रुपले सबैभन्दा पहिला आएको कारसमेत टोयोटाको नै हाे । 

एजेन्सी

Comments

Back to top