कहाँसम्म थियो ग्रेटर नेपालको सीमाना, कति थियो क्षेत्रफल ?

सन् १७९९ सालको चैत्र २५ गते तत्कालिन एउटा गरिबी र पहाडी राज्यको शासनमा पृथ्वीनारायण शाह पुगे, तब उनले स–साना राज्यलाई एकीकृत बनाउने सपना देखे। पृथ्वीनारायण शाहको सपना अनुसार उनको जेठी बुहारी राजेन्द्रलक्ष्मी र कान्छा छोरा बहादुर शाहको साहसका कारण सन् १८०६ सम्म आइपुग्दा नेपालको सीमाना पूर्वमा टिष्टा र पश्चिममा काँगडा र दक्षिणमा गंगा नदीसम्म पुर्‍याई नेपालको क्षेत्रफल ३६७५७५ वर्ग कि.मि. पुर्‍याएको देखिन्छ। यसरी विशाल गोर्खा साम्राज्य निर्माण गरेको इतिहास छ।

गोर्खा शक्तिशाली भएको तत्कालीन भारतमा शासन गरिरहेको इष्ट इन्डिया कम्पनीलाई चित्त बुझेको थिएन। त्यसैले उसले गोर्खा सरकार विरुद्ध विभिन्न षड्यन्त्र गर्न थाल्यो। त्यसै षड्यन्त्रको परिणाम सन् १८०९ मा नेपालले आफ्नो पश्चिमको सिमाना त्याग्दै सतलज फर्कन बाध्य भयो। पूरा विश्वलाई आफ्नो नियन्त्रणमा राख्ने शक्ति अंग्रेजलाई सुन्दर हिमाली राज्य विशाल र शक्तिशाली भएको हेर्न कठिन भयो, त्यसैको परिणाम सीमामा निहुँ खोज्ने काम गर्न थाल्यो। यस क्रममा गोर्खा साम्राज्य अन्तर्गत गोरखपुर जिल्लाको बुटवल र सिवराज क्षेत्रमा धावा बोल्दै केही भू–भाग कब्जा गर्न थाल्यो।

केही दिन त गोर्खाली फौज सहदै पछि हट्यो। अंग्रेज फौज अघि बढ्न रोकिएन, त्यसै क्रममा गोर्खा फौजले आफ्नो भूमि नियन्त्रण लिन कठोर कदम चाल्यो। त्यस घटनामा धेरै अंग्रेज फौजको ज्यान गुम्यो। यसै घटनालाई अंग्रेजले गोर्खा विरुद्ध यूद्ध गर्न निहुँ बनाउँदै १ नोभेम्बर १८१४ का दिन अंग्रेजले गोर्खा विरुद्ध विधिवत् युद्धको घोषणा गर्‍यो।

सन् १८१४ नोभेम्बर १ देखि सुरु भएको युद्ध झण्डै १ वर्ष चल्यो। त्यसै क्रममा पश्चिमको केही भू–भागमा नेपालले गुमायो, पूर्वमा बचाएर राख्यो। युद्धकै क्रममा अंग्रेजले २ डिसेम्बर १८१५ मा नेपाल समक्ष शान्ति तथा मैत्री सन्धिको प्रस्ताव राख्दै १५ दिनको समयसीमा पनि तोक्यो, उक्त समयसम्म अंग्रेजले नेपालमा भाइ–भारदारबीच फुट ल्याउन सफल भइसकेको थियो। त्यसैले नेपालमा भाइ–भारदारबीच यूद्धका लागि एकमत हुन सकेन र बाध्यतावश झण्डै ३ महिनापछि सन् १८१६ मार्च ४ मा नेपालले सन्धिपत्रमा हस्ताक्षर गर्‍यो।

हुन त त्यसताका सन्धिमा हस्ताक्षर गर्नेहरु (गजराज मिश्र र चन्द्रशंकर उपाध्याय) नै नफिर्किएकाले यो सन्धि कतिकोे बैधानिकता छ भन्ने प्रश्न छँदैछ। यस विषयमा इतिहासकारहरुले खोजी गर्दै जालान्। एक दिन सत्य निस्केला पनि। तर, पनि १८१६ मार्च ४ को सन्धिकै आधारमा मेची पूर्व टिष्टासम्म र महाकाली पश्चिम सतलजसम्म र सम्पूर्ण तराई गुमाएको देखिन्छ। अंग्रेजले यति हडपेपछि नेपाल केही समय तराईविहिन बन्यो।

सन्धिको ९ महिनापछि १८१६ डिसेम्बर ११ का दिन अंग्रेजले नेपालसँग अर्को शान्ति तथा मैत्री सन्धि गरी राप्तीदेखि पूर्वको भू–भाग फिर्ता गर्‍यो। त्यसपछि लामो समय नेपाल स्थिर र शान्त देखियो। सन्धिको ४४ वर्षपछि १८६० नोभेम्बर १५ का दिन राप्तीदेखि महाकालीसम्मको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर अंगे्रजले नेपालको भू–भाग दोश्रोपटक फिर्ता गर्‍यो। अरु पनि क्रमशः फिर्ता गर्दै जाने सहमतिमा उक्त जमिन फिर्ता भएको हो।

त्यस समयमा नै नेपालको क्षेत्रफल १४७१८१ वर्ग कि.मि. कायम भएको हो। त्यसपछि नेपालमा भद्रगोल र अशान्ति फैलियो। भाइ–भारदारबीच नै विभिन्न घटनाहरु घट्न थाले। नेपालको सत्ता आफैँमा काटमारमा अल्झिएर गुज्रियो। आफैँमा अशान्ति भएपछि पुनः भू–भाग खोज्ने वातावरण नै बनेन। यस्तो वातावरण निर्माणका लागि अंग्रेजको ठूलो भूमिका रह्यो, जसरी नेपालको अशान्तिका लागि आज भारतको भूमिका छ। नेपालमा सरकार अस्थिर बनाउने हत्या गराउने, एकता हुन नदिने काममा अंग्रेजले भूमिका खेलिरह्यो।

यसै क्रममा अंग्रेज आफैँ युद्धमा फस्यो। नेपालका शासकहरुमा पनि दुरदर्शिता रहेन, त्यसैले नेपालको भूमि लामो समय बेवारिसे रुपमा रह्यो। त्यसै क्रममा अंग्रेज साम्राज्य भत्कियो। उसले अन्यत्र जस्तै भारत छाड्नैपर्ने भयो र सन् अगस्ट १५, १९४७ मा भारत स्वतन्त्र भयो। त्यस समय यता नेपालमा पनि विभिन्न आन्दोलन चलेको थियो। त्यो आन्दोलन नेपाली कांग्रेस नामक पार्टीले चलाएको थियो। स्वतन्त्र भारतको नेहरुको सहयोगमा नेपालमा आन्दोलन चलेकाले नेपालमा राजनीतिक संकट हुने नै भयो। त्यो संकटमा राणाहरु आफैँ असुरक्षित रहेको अवस्थामा अर्को भू–भाग माग्ने कुरै भएन।

तर, पनि अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले स्वतन्त्र भारत र नेपालबीच ३१ जुलाई १९५० मा शान्ति तथा मैत्री सन्धि गरी उक्त सन्धिको धारा ८ ले नेपालको गुमेको भू–भाग फिर्ता गराएको देखिन्छ, साथै ३० अगस्ट, १९५० मा अंग्रेजसँग शान्ति सन्धि गरी त्यसको धारा ८ ले पनि नेपालको गुमेको भूभाग पुनः प्राप्त गरेको देखिन्छ। यत्तिकैमा नेपालमा प्रजातन्त्र आयो राणा शासनको अन्त्य भयो। नेपालमा प्रजातन्त्र आएपश्चात् आधा शताब्दीभन्दा बढी समयसम्म नेपालको पूरानो भूमिबारे खासै खोजी गरेको देखिँदैन।

नेपालको क्षेत्रफल १४७१८१ वर्ग कि.मि. नै थियो। तर, आज प्रजातन्त्रदेखि गणतन्त्रसम्मको यात्रामा नेपालले धेरै खोला नाला गुमाएको छ, धेरै प्राकृतिक स्रोत गुमाएको छ। जब भारत स्वतन्त्र भयो, नेपालमा प्रजातन्त्र आयो, नेपालका शासकले आफ्नो सम्पदा सुरक्षित राख्न सकेनन्। त्यतिमात्र होइन, मेचीदेखि कालीसम्मको बाँकी भूभाग विभिन्न ठाउँमा गरी करिब १०२३ वर्ग कि.मि. क्षेत्रफल नै गुमाएको अवस्था छ। नेपालको सीमाना कहाँसम्म हो, नेपालको क्षेत्रफल कति हो ? प्रश्न उब्जिएको छ। कुनै समय नेपाल टिष्टा काँगडासम्म पुग्यो, नेपालको क्षेत्रफल ३६७५७५ वर्ग कि.मि. थियो। सुगौली सन्धिताका २०४९१७ वर्ग कि.मि. थियो, राणशासनको अन्त्यपछि नेपालको क्षेत्रफल १४७१८१ वर्ग कि.मि. थियो।

वि.सं. २००७ सालदेखि आजसम्म भारतले विभिन्न ठाउँको गरी १०२३ वर्ग कि.मि. जमिन मिचेको छ। त्यसलाई कटाउँदा वर्तमान नेपालको वास्तविक क्षेत्रफल १४६१५८ वर्ग कि.मि. मात्र हुन आउँछ। नेपालको वास्तविक क्षेत्रफल कति हो ? सरकारको आधिकारिक धारणा आउनुपर्छ। त्यसका लागि नेपालको क्षेत्रफलको पूनः नापजाँच जरुरी छ।

एजेन्सी

Comments

Back to top