विदेशी मुद्राको सञ्चितिमा सात अर्बको वृद्धि
विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ। राष्ट्र बैंकले शुक्रबार माघ महिनासम्मको आर्थिक विवरण सार्वजनिक गर्दै एक महिनामा सञ्चिति ७ अर्ब २२ करोड रुपैयाँले बढेको जनाएको छ । पुसमा ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ रहेको सञ्चिति ११ खर्ब ७३ अर्ब २ करोडमा उक्लिएको जनाएको छ।
राष्ट्र बैंकले विदेशी मुद्रा खर्च हुने आयातमा कडाइ गरेपछि सञ्चितिमा सुधार आएको हो। पुसमा १ खर्ब ६० अर्ब ९३ करोड आयातको तुलनामा माघमा एक खर्ब ४८ अर्ब १२ करोड मात्र भएको छ। यही कारण रेमिटेन्स घट्दासमेत विदेशी मुद्राको सञ्चितिमा सामान्य भए पनि सुधार भएको हो।
विदेशी मुद्राको सञ्चितिमा देखिएको सामान्य सुधारले आयात गर्नै क्षमतामा पनि केही वृद्धि भएको छ। पुसमा वस्तुको आयात गर्ने क्षमता ७.२ र वस्तु तथा सेवाकोमा ६.६ महिनाको रहेकोमा सो क्षमता माघमा वस्तुको ७.४ र वस्तु तथा सेवाकोमा ६.७ महिनामा उक्लिएको छ।
Comments