प्रा.डा. सुधा त्रिपाठी: एमएमा टप, नेपाली विभागको प्राध्यापनदेखि प्रमुख र रेक्टरमा पहिलो महिला

महिलाका रूपमा सुधा त्रिपाठी सधैँ अगाडि रहिन्- चाहे त्यो प्राध्यापनको क्षेत्रमा होस् वा साहित्यको क्षेत्रमा । पुरुषहरूबाट हुने हरेक चुनौती उनले जहिले पनि सामना गर्दै आफूलाई अब्बल सावित गरिरहिन् । 

महिलाहरूले समालोचना जस्तो बौद्धिक क्षेत्रमा काम गर्न सक्दैनन् भन्ने आरोपलाई चिर्न उनले समालोचनाका आधा दर्जन त पुस्तक नै प्रकाशित गरेकी छन् । उनले नाटक पनि लेखेकी छन् । त्यस अगाडि महिलाहरूले नाटक लेख्न सक्दैनन् भन्ने एक किसिमको धारणा थियो । त्यसलाई पनि चिर्ने महिलामा पर्छन् उनी  ।  

अर्को, महिलाहरू निबन्धमा त्यति कलम चलाउन सक्दैनन् भन्ने मान्यतालाई पनि उनले आधा दर्जन निबन्धका किताब प्रकाशन गरेर राम्रै उदाहरण दिएकी छन् । 

त्रिभुवन विश्वविद्यालयमा पनि विभागीय प्रमुखदेखि रेक्टरसम्म भइन् उनी । त्यहाँको नेपाली विभागमा उनी २५ वर्षसम्म एक्लो महिलाको रूपमा रहेकी थिइन् । 

रेक्टर रहँदा उनको गाडी जलाइयो । उनलाई ज्यान मार्ने, हात-खुट्टा भाँच्नेसम्मका धम्की आए । तर, यी सबै चुनौतीलाई उनले सहर्ष स्वीकारेर आफ्नो जिम्मेवारी सहज ढंगले पूरा गरेर आफूलाई सबल र सक्षम महिलाका रूपमा प्रस्तुत गरेकी छन् । 

पारिवारिक अवस्था

उनका बुबा जगन्नाथ त्रिपाठी पनि प्राध्यापन गर्दथे, पद्मकन्या क्याम्पसमा । आमा भने सामान्य साक्षर मात्र ।  बुबाको प्राध्यापन र दुःख गराइले चल्थ्यो परिवार । त्यस हिसाबले मुस्किल मुस्किलै थियो । जेनतेन चल्थ्यो । 

यस अर्थमा मध्यम भन्न पनि गाह्रो र निम्नमध्यम पनि भन्न नसकिने किसिमको आर्थिक अवस्था थियो उनको बुबाको । उनको बुबाको दोलखामा पनि सानो घर र केही जमिन त थियो तर त्यसले खासै केही टर्दैनथ्यो । 

७ जना छोराछोरीलाई पढाउन पनि ग्राहै थियो । बुबाले २-३ ठाउँमा पढाएर यी सबै खर्च जुटाउँथे । छोराछोरी सबैलाई शिक्षाचाहिँ दिने तर सम्पत्ति नदिने भन्ने उनका बुबाको एक प्रकारको मान्यता नै थियो ।

जन्म र बाल्यकाल

सुधा त्रिपाठीको जन्म २०१५ सालमा दार्जिलिङमा भएको हो । बुबा पढाइका लागि दार्जिलिङ गएका बखत उनको उतै जन्म भएको हो । 

उनी जेठी छोरी । उनीकी एउटी बहिनी तथा ५ भाइ । उनी ४ वर्ष दार्जिलिङमा बसिन् अनि २ वर्ष मामाघर सिन्धुपाल्चोकमा बसिन् । ६ वर्षजति दोलखामा बसेर काठमाडौँ आएकी हुन् । 

एसएलसीपछि उनी पद्मकन्या कलेजमा पढ्न थालिन् । उनी कलेजमा पढ्दा अतिरिक्त क्रियाकलापमा भाग लिन थालिन् । 

साथीभाइले पनि उनलाई 'तेरो नेपाली राम्रो छ, लेखिराख्' भनेर उत्प्रेरणा दिइरहन्थे । 

एसएलसीमा ५ नम्बर नपुगेर दोस्रो श्रेणी नआएको कुराले उनलाई पढ्न झन् उत्प्रेरित बनायो । अब सर्टिफिकेट लेभलमा राम्रो नम्बर ल्याउनुपर्छ भनेर उनी अझ मिहिनेत गर्न लागिन् । 

तर, सर्टिफिकेटमा पनि त्यस्तै भयो । उनको थोरै नम्बर नपुगेर प्रथम श्रेणी आएन । डिप्लोमामा पनि त्यस्तै भयो । त्यस्तै थोरै नम्बरले फेरि प्रथम श्रेणी आएन । 

उनी २०४० सालमा भने त्रिभुवन विश्वविद्यालयमा एमएको नेपालीमा सर्वोत्कृष्ट भइन् । त्यस बेलासम्म कोही पनि महिला सर्वोत्कृष्ट भएका थिएनन् । 

उनलाई दोलखामा पढ्दा केटाहरूले दिएको दुःखको परिणाम बल्ल प्राप्त भयो जस्तो लाग्यो ।

प्राध्यापन

उनले थेसिस नै नबुझाई अब पढाउने अवसर प्राप्त भयो । उनका बुबाले धेरैतिर पढाउँथे । त्यसमध्येको एक डिल्लीबजारको कन्या क्याम्पस थियो । बुबाले त्यहाँ छाड्न खोजेका थिए । 

उनले एउटा सेसनको एउटा क्लास लिइन् । त्यसपछि भने उनी थेसिस तयार गर्न लागिन् । 

उनले थेसिसमा पनि छात्रवृत्ति प्राप्त गरेकी थिइन् । त्यसो हुनाले उनलाई हास्यव्यङ्ग्य र गुणराज उपाध्यायको जीवनीमध्ये २ वटामा एउटा रोज्ने अवसर थियो । 

उनले गुणराज उपाध्यायको जीवनी रोजिन् । त्यस बेलासम्म कम्प्युटर आइसकेको थिएन । टाइपराइटरमा टाइप गर्नुपर्थ्यो । उनी दिनभरि बागबजारमा टाइप गराउन जान्थिन् । त्यस बेला पद्मकन्या कलेजमा एक पिरियड खाली भएको रहेछ । 

विभागीय प्रमुख सुशीला भट्टले घरमै आएर उनलाई कक्षा लिन आग्रह गरिन् । कक्षा लिएको एक महिना पनि नभई उनी कीर्तिपुर जाने हल्ला चलेको रहेछ । तर, उनलाई भने केही थाहा थिएन । 

एक दिन नेपालीकै शिक्षक ज्योति खड्का पाण्डेले 'तपाईँको चिठी आएको छ' भनेपछि उनले गएर हेरिन् । नभन्दै चिठी कीर्तिपुरमा पढाउनलाई खटाएको सम्बन्धमा थियो । 

उनले २०४१ सालको सुरुमा थेसिस बुझाइन् । माधव घिमिरे त्यस बेला उपकुलपति थिए । उनले समय दिन नसक्दा ४ महिना त्यसै गयो । टाइप गर्न ४ महिना, गुरुले हेर्न ४ महिना अनि भाइबाको रिजल्ट हुन ४ महिना गरेर एक वर्ष त्यसै गयो । 

उनले २०४२ सालमा मात्र प्रमाणपत्र पाइन् । उनले कीर्तिपुरमा २५ वर्ष पढाइन् । त्यस बेलासम्म सर्वोत्कृष्ट हुने न कोही महिला थिए, न त नेपाली विभागमा पढाउने कोही महिला नै आए । 

साहित्य यात्रा

उनी महेन्द्र भवन माविमा पढ्दा साथीहरूले तथा शिक्षकहरूले पनि 'तिम्रो नेपाली राम्रो छ, लेख' भनेपछि उाले पहिलो पटक कविता लेखेकी हुन् । 

एसएलसी गरेर गाउँ गएर बसेपछि पनि कविताहरू लेखिन् । 

पछि पद्मकन्या कलेजमा आएपछि भने लेख्ने र पुरस्कृत हुने क्रम थपियो । अनि, बाहिरी गोष्ठीमा पनि भाग लिने गर्न थालिन् । 

'नेपाली भाषा आजको परिप्रेक्ष्यमा' भन्ने निबन्ध उनले दाहाल यज्ञनिधिले लेख्न आग्रह गरेपछि लेखेर दिइन् । 

प्रसारण हुँदा भने उहाँ लुगा धुँदै थीइन्। बुबाले रेडियोमा बजेको सुनेपछि 'ल साहित्यकारज्यू, यहाँ साहित्य कार्यक्रममा आयो' भनेपछि उनी साबुन र लुगा त्यत्तिकै छाडेर हतारिएर सुन्न आइन् । 

सुन्नु त भयो तर के सुनेको, के नसुनेको केही थाहा भएन । नाम भने उनको सुधा त्रिपाठी भन्छ । आवाज पनि आउँछ । कसले कहाँबाट पढेको ? एक प्रकारको सन्नाटा जस्तै भयो त्यो समयमा । 

प्रकाशन

उनको पहिलो प्रकाशन २०३४ सालमा 'विदीर्ण मातृ हृदय' भन्ने शीर्षकको कथा एउटा साप्ताहिक पत्रिकामा प्रकाशन भएको रहेछ । 

२०३४ सालमा नै रेडियोमा उनको निबन्ध प्रसारण भएको थियो । 

२०३५ सालमा ‘मेरा व्यथाहरूको गीत’ भन्ने प्रज्ञाप्रतिष्ठानको 'प्रज्ञा' पत्रिकामा उनको दोस्रो रचना कविता छापिएको थियो । 

उनको सम्पादन तथा लेखन गरी अहिलेसम्म १८ वटा पुस्तक प्रकाशन भएका छन् । ८ वटा पुस्तक प्रकाशनको तयारीमा छन् । 

उनका करिब ७ वटा समालोचनाका पुस्तक तथा त्यतिकै संख्यामा निबन्धका पुस्तक प्रकाशन भएका छन् । 

कवितासंग्रह भने अलिक पछि प्रकाशन भयो । प्रकाशनमा रहेका कृतिमा समालोचना तथा कविताका कृति छन् । 

संघसंस्थामा संलग्नता

उनी प्रगतिशील लेखक संघ (प्रलेस)मा निरन्तर २४ वर्ष आबद्ध रहिन् । परिषद् सदस्यदेखि उपाध्यक्षसम्म भइन् उनी। 

प्रलेसमा तथा गैरप्रलेसमा पनि जहिले पनि 'महिलाका तर्फबाट तपाईँ आउनुहोस्' भनेर उनलाई मात्र भनिन्थ्यो, अरू महिलालाई भने अवसर नै नदिने जसो गरी । 

प्रलेसमा तथा अन्य संस्थामा महिलालाई जहिले पनि कोषाध्यक्ष दिने प्रचलन थियो । 

उनले यसलाई तोड्नुपर्‍यो भनेर अरू सबै महिला तथा एक जना पुरुषलाई कोषाध्यक्षमा राखेर कमिटी नै गठन गरे। 

उनीहरूलाई नाम फिर्ता लिन आग्रह गरियो । उनीहरूले नाम फिर्ता नलिएपछि रातभर बहस तथा छलफल भयो । अन्त्यमा ३ जना महिला समावेश गर्ने गरेर सहमति भयो । 

उनले प्राध्यापक संघमा कोषाध्यक्ष भन्ने पदलाई भने पहिले नै बाईबाई गरेकी थिइन् । त्यसैले उनी कहिल्यै पनि कोषाध्यक्ष भइनन् । 

मान, सम्मान तथा पुरस्कार

उनका थुप्रै मान, सम्मान तथा पुरस्कार छन् । तर, उनलाई ती मान, सम्मान तथा पुरस्कारमा खासै चासो नभएका कारण उनले ती सबै एउटा कोठामा लगेर थन्क्याएकी रहेछिन् । खासगरी साहित्यतर्फ पनि मान्छेको खुराफाती तथा चाकडी, चाप्लुसी अनि खुट्टा तान्ने प्रवृत्तिले उनलाई दिक्क बनाएको रहेछ । त्यस कारण उहाँ अचेल सिर्जनायात्रालाई पनि थाँती राखेर आनन्दले बसिरहेकी छन् ।

महिलाका रूपमा प्रथम

उनी महिलाका रूपमा ४ पदमा प्रथम रहिन् । पहिलो, नेपाली विभागकाे प्रध्यापन हुँदै विभागीय प्रमुख , अर्को भनेको रेक्टर अनि एमएतर्फ प्रथम ।

रेक्टरको काँधमा स्ववियु चुनाव गराउने जिम्मेवारी हुँदो रहेछ । त्यसैले उनले त्रिविमा आएर सबैले हामी आधिकारिक भन्ने चुनौतीलाई चिर्न पनि चुनाव गराउन खोजेकी रहेछिन् । 

यसै प्रसंगलाई लिएर यूएन पार्क नजिकै उनी चढेको गाडीमा माओवादी विप्लव समूहले गरेको आगजनीसमेतकाे सामना गरेकी छन्  ।

एजेन्सी

Comments

Back to top