टी–२० विश्वकप खेलेका खेलाडीलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने क्यानको निर्णय
नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही ३ लाख र अन्य सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने उल्लेख गरेका छन् ।
यस्तै बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजार तलब प्रदान गर्ने निर्णय गरेको हो । खेलाडीहरुको पारिश्रमिक बापतको रकम प्रदेशहरुमा पठाइने र प्रदेश क्रिकेट संघले खेलाडीहरुलाई सम्झौता गर्ने क्यानले जनाएको छ ।
क्यानका अनुसार उक्त सम्झौता सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ ।
एजेन्सी
Comments