हिजबुल्लाहले रकेट वर्षाएपछि इजरायलमा सङ्कटकाल घोषणा
लेबनानस्थित हिजबुल्लाहसँगको बढ्दो तनावका कारण इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ ।
हिजबुल्लाहले सयौं रकेट प्रहार गरेपछि इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गरेका हुन् । मन्त्रिपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टासम्म रहने उनले बताएका छन् ।
इजरायलले हिजबुल्लाहका अखडामा निरन्तर आक्रमण गरिरहेको छ । लेबनानले इजरायली आक्रमणमा एकजना सर्वसाधारण मारिएको जनाएको छ ।
हिजबुल्लाहले पहिलो चरणमा ३ सयभन्दा धेरै रकेट र ड्रोनबाट इजरायमा आक्रमण गरेको बताएको छ । तनाव बढ्दै गएपछि इजरायली नागरिकलाई उच्च सतर्कतामा रहन भनिएको छ ।
गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमाण्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो । इरानको सम्भावित आक्रमणविरूद्ध इजरायलले कडा प्रतिशोधको तयारी गरिरहेको समेत जनाएको छ ।
एजेन्सी
Comments