संसदीय समितिमा रवि लामिछानेको इन्कारी बयान

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ ।

समितिले हिजो ५० भन्दा बढी प्रश्न गरेकोमा लामिछानेले सबैमा इन्कारी बयान दिएका छन् । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा, काठमाण्डौको वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा गएको रकम, आफ्नो नाममा खडा गरिएको ऋण र प्रवाह भएको भनिएका रकमको सम्बन्धमा समेत आफ्नो हस्ताक्षर, आफ्नो कागजात, नागरिकतासहितका विवरण समावेश नरहेको उनले दाबी गरेका छन् ।

विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिको नाममा गएको रकमबारे सोधिएको प्रश्नमा पनि लामिछानेले आफूले त्यसको जिम्मेवारी नलिने बयान दिएका छन् ।

सहकारी ठगीबारे लामिछानेमाथि संसद्, सार्वजनिक सञ्चारमाध्यम र जनसाधारणबाट आएका प्रश्नका बारेमा सोधपुछ भएको समितिले जनाएको छ । समितिले हिजै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरेको छ ।

एजेन्सी

Comments

Back to top