तनहुँ बस दुर्घटना : २१ जनाको ज्यान गयो, बसमा रहेका ४३ जना सबै भारतीय नागरिक
तनहुँको मर्स्याङ्दी नदीमा खसेको बसमा रहेका ४३ जनामध्ये कम्तीमा २१ जनाको ज्यान गएको छ । यस्तै २२ जना घाइते भएका छन् ।
घटनास्थलबाट ४३ जना सबै यात्रुको उद्धार गरिएको र तीमध्ये २१ जनाको ज्यान गएको तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिए । उनका अनुसार बसमा ४१ जना यात्रु र चालक दलका दुई जना गरी ४३ जना सबै भारतीय नागरिक हुन् ।
घाइतेमध्ये १२ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।
पोखराबाट काठमाण्डौका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस आज बिहान साढे ११ बजे पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा खसेको हो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा अड्किएको छ ।
प्रहरीका अनुसार गोरखपुरबाट नेपाल आएको बसले गएको मङ्गलवार बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्याएर काठमाण्डाैतर्फ गुड्दै गर्दा सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो।
एजेन्सी
Comments