अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा आज बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार ती स्थानमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ।

विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती नहुँदा वर्षौदेखि कर्णालीका आम नागरिकले दुःख पाउने गरेका छन् ।

सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।

एजेन्सी

Comments

Back to top