मदिरा किङ विजय शाहको एउटै कम्पनीले गर्यो साढे १४ अर्बको कारोबार
मदिराको मार्केट लिडर जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको वितरण कम्पनी ‘जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज डिस्ट्रिब्यूसन प्रालि’ एक्लैले सन् २०२१ मा साढे १४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।
नेपालको मदिरा बजारको सबैभन्दा ठूलो प्लेयरको यस समुहअन्तर्गतको कम्पनीले पछिल्लो एक वर्षमा १४ अर्ब ५० करोड २७ लाख रुपैयाँको व्यापार गरेको हो।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२२ को पहिलो ६ महिनामा ६ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ कारोबार यस कम्पनीले गर्ने अनुमान गरेको छ। यो अवधिमा कम्पनीले संचालन नाफाको मार्जिनमा पनि सुधार गरेको छ। यो अवधिमा फेस्टिभ सिसनसमेत परेकाले कम्पनीको मार्जिनमा सुधार आएको इक्रा नेपालले जनाएको छ।
कम्पनीले २०२० मा ११ अर्ब ३८ करोड ६० लाख रुपैयाँ कारोबार गरेको थियो। यस्तै, २०१९ मा १३ अर्ब ३१ करोड २० लाख रुपैयाँको कारोबार गरेको यस कम्पनीले त्यसअघि वर्ष २०१८ मा पछिल्ला चार वर्षयताकै सर्वाधिक अर्थात् १५ अर्ब २६ करोड ५८ लाख रुपैयाँको व्यापार गरेको थियो।
२०२० को तुलनामा २०२१ मा कम्पनीको कारोबार २८ प्रतिशत र बिक्री परिमाण २५ प्रतिशतले उकालो लागेको छ। कोरोना महामारी नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञा खुकुलो भएसँगै कम्पनीको कारोबार पुरानै अवस्थामा फर्किँदै गएको इक्रा नेपालले जनाएको छ। जावलाखेल ग्रुपको सबैभन्दा ठूलो दबदबा भोड्का र ४०युपी ब्राउन स्पिरिट सेगमेन्ट (गोल्डेन ओक) मा छ।
समूहले २०२१ मा गरेको कुल बिक्री (सेल्स) को ६१ प्रतिशत हिस्सा ४० युपी ब्राउन स्पिरिट (गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेसन, हिमालयन ब्राण्डी) कै रहेको छ। यस्तै, ३० प्रतिशत ह्वाइट स्पिरिट (भोड्का, जिन, आइला) र ९ प्रतिशत बियरको रहेको कम्पनीले जनाएको छ।
तर, कम्पनीको आम्दानीमा ठूलो हिस्सा भने मुख्य तीन प्रडक्ट गोल्डेन ओक, ब्लू डाइमन्ड र रुस्लान भोड्काको छ। २०२१ मा कुल आम्दानीको ८४ प्रतिशत यी तीनवटा प्रडक्टबाटै भएको थियो। २०२० मा यो संख्या ८० प्रतिशत हाराहारी छ। कम्पनीका नयाँ उत्पादनको पनि व्यापारले गर्दा उक्त तीन प्रडक्टको हिस्सा कम भएजस्तो देखिएको हो। तर रकमका हिसाबले भने अझ बढेको कम्पनीस्रोतको भनाइ छ।
जावलाखेल ग्रूपको यस वितरक कम्पनीमा विजयकुमार शाहको एकल स्वामित्व छ। उनी कम्पनीको अध्यक्ष एवम् प्रबन्ध निर्देशक हुन्। सन् १९७३ मा जावलाखेल डिस्टिलरी स्थापना गर्दै पहिलोपटक रुसलान भोड्काको व्यापारिक उत्पादन थालिएको थियो। जावलाखेल ग्रुपअन्तर्गत अहिले विभिन्न आठ कम्पनी संचालनमा छन्।
जसमध्ये चारवटा डिस्टिलरी, एउटा/एउटा ब्रुअरी र रिसर्च युनिट (टेक्नोलोजी र रिसर्च सेन्टर), जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज प्रालि र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज डिस्ट्रिब्यूसन प्रालि छन्।
विगत चार दशकदेखि मदिराको विभिन्न ब्राण्ड उत्पादन गर्दै आएको जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज डिस्ट्रिब्यूसनले चारवटा डिस्टिलरीको मदिरा बिक्री गर्दै आएको छ। विजय, एसियन, हिमालयन र रोलिङ रिभरसहित राज ब्रुअरीले उत्पादन गर्ने मदिरा ब्राण्डहरु जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज डिस्ट्रिब्यूसनले बिक्री गर्दै आएको छ।
देशभर कम्पनीको २३७ वटा डिलर छन् भने चारवटा गोदाम संचालनमा रहेको कम्पनीले जनाएको छ। कम्पनीले ६ अर्ब ५० करोड रुपैयाँ कर्जाका लागि इक्रा नेपालबाट पुन पुष्टी गरेको छ। जसका लागि इक्रा नेपालले एफोर प्लस रेटिङ दिएको छ।
Comments