दाजुको सपना पूरा गर्न राजनीतिमा होमिएका पुष्पलाल

नेपालको कम्युनिस्ट आन्दोलनका जनक मानिन्छन् पुष्पलाल। नेपाली राजनीतिमा ‘कम्युनिस्ट बिउ’ रोप्ने राजनीतिज्ञका रूपमा उनकै नाम लिइन्छ। पुष्पलालको जन्म १५ असार १९८१ मा रामेछापमा भएको हो। पिता भक्तलाल र माता तुलसीकुमारीका माहिला छोरा हुन्। पुष्पलालका एक दाजु गंगालाल, तीन भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ एवम् बहिनी पुष्पलता थिए।

१९९७ सालमा आफ्ना दाजु गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु एक दिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’ भनेका थिए। १९९७ सालमा दाजु गंगालालसहित अन्य ३ जनालाई तत्कालीन जहानियाँ राणा शासकले हत्या गरेपछि पुष्पलालले १९९८ सालमा केही विद्रोहचेत भएका साथीहरूसँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए। संघले राणाशासनको विरोध गरी खालका तालिम दिन्थ्यो।

उनीहरूमा विद्रोहचेत कतिसम्म थियो भने संघमा रहेका हरेक सदस्यले आआफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो। संघले राणाशासनको विरोध गर्न विभिन्न तालिम दिन्थ्यो।

पुष्पलालले नेपालमा मात्र नभएर भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाए। पुष्पलालले १९९७ सालदेखि बन्दी जीवन बिताइरहेका तत्कालीन विद्रोही समूह नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्य रूपले सम्पर्क गरेर बन्दी नेताहरूको नेलसहितको फोटो भारतको पटनाबाट प्रकाशन हुने ‘जनता’ पत्रिकामा प्रकाशन गराए। पिता भक्तलाल पनि राजनीतिमा सचेत थिए। २००९ सालमा भएको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालमा भक्तलाल एक्सन कमिटीका अध्यक्ष बनेका थिए।

२००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारका लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गरेका थिए।
जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण तत्कालीन जहानियाँ राणा शासक पद्मशमशेर राणाले सुधारको कदम चाल्ने प्रयास गरेका थिए। तर पद्मशमशेरको उक्त कदम जनताका आँखामा छारो हाल्ने मात्र थियो।

पुष्पलाल मार्क्सवाद-लेनिनवादलाई आफ्नो राजनीतिक दर्शन ठान्थे। यही दर्शनलाई आत्मसात् गर्दै उनले २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका हुन्। पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचारप्रसार गर्न कम्युनिस्ट पार्टीको घोषणापत्र नेपाली भाषामा अनुवाद पनि गरे।

१ पुस २०१७ मा तत्कालीन राजा महेन्द्रले शिशु प्रजातन्त्रको घाँटी निमोठेपछि पुष्पलाल पनि अन्य नेतासँगै भूमिगत भए। त्यसबेला पनि पुष्पलालले चारैतिर छरिएका कम्युनिस्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गराए।

भनिन्छ, गंगालाललाई गोली हानी मार्नुअघि भद्रगोल जेलमा भेट्न जाँदा भाइ पुष्पलाललाई गंगालालले भनेका थिए रे, ‘माहिला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित गर्नेछस्।’ दाजु गंगालालको यही भनाइले नै पुष्पलाललाई नेपाली राजनीतिमा सक्रिय हुन प्रेरित गरेको थियो।

पुष्पलालसँग नजिक रहेर काम गरेका पुराना वामपन्थी नेता मोदनाथ प्रश्रितले पुष्पलाललाई ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई सुरु गर्ने र एउटा उचाइमा पुर्‍याउने’ श्रेय दिएका छन्।

नेपाली कांग्रेस र कम्युनिस्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचार गराउँदा-गराउँदै निधन भयो।

एजेन्सी

Comments

Back to top