भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने रास्वपाको निष्कर्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले कुनै पनि हालतमा भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य नहुने निष्कर्ष निकालेको हो ।

बैठकमा भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्ने कुरा राजनीतिक दलहरूले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशङ्का भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जाने गरी राजनीतिक दलहरूले गम्भीर त्रुटि गरिरहेको बताए । पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धारणा राख्ने उनकाे भनाइ छ ।

प्रमुख सचेतक परियारले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जलनसम्बन्धी गैरसरकारी विधेयक संसदमा आज नै दर्ता गर्ने गरी छलफल भइरहेको बताए।

भ्रष्टाचार गरेको पाँच वर्षपछि मुद्दा चल्ने कि नचल्ने भन्ने विषयमा दलहरूबीच अहिले मतभेद छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले जतिसुकै पुराना भ्रष्टाचारका मुद्दा भए पनि हदम्याद लागू गर्न नहुने अडान लिएका छन् । नेकपा एमालेका केही सांसद भने पाँच वर्षे हदम्यादको पक्षमा तर्क गरिरहेका छन् ।

एजेन्सी

Comments

Back to top