झण्डै डेढ लाखले लिए सहुलियतपूर्ण कर्जा, साढे ११ अर्ब बढी ब्याज अनुदान
चालु आवको सात महिनामा झण्डै डेढ लाखले सहुलियतपूर्ण कर्जा लिएका छन् । माघसम्ममा २ खर्ब भन्दा बढी सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । केन्द्रीय बैंकका अनुसार माघसम्ममा १ लाख ४२ हजार ३४४ जनाले सहुलियतपुर्ण कर्जा लिएका छन् ।
माघसम्ममा कुल २ खर्ब ५० अर्ब १४ करोड ४४ लाख ४५ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जाको स्वीकृति भएको छ । जसमा २ खर्ब १४ अर्ब ७८ करोड १० लाख ८५ लाख रुपैयाँ कर्जा भुक्तानी हुन बाँकी छ । सहुलियतपूर्ण कर्जाको लागि मात्र राष्ट्र बैंकले हालसम्म ११ अर्ब ५० करोड ८६ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिसकेको छ ।
उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन राष्ट्र बैंकले तोकिएका निर्देशित क्षेत्रमा निश्चित प्रतिशत कर्जा लगानी गर्नैपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले कृषि, जलविद्युत र साना तथा मझौला उद्योगमा निश्चित प्रतिशत कर्जा दिनैपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैकहरुबाट १ लाख २० हजार ८७१ जनाले कर्जा लिएका छन् । जसअन्तर्गत २ खर्ब १७ अर्ब ७२ करोड २९ लाख २ हजार स्वीकृत भएकोमा १ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँ कर्जा बाँकी रहेको छ ।
व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायीक शिक्षा कर्जा, भुकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनको लागि कर्जा, युवा वर्ग स्वरोजगार कर्जा लगायत विभिन्न कर्जा शीर्षकमा बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्रदान गरेका छन् ।
राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अन्तर्गत सबैभन्दा बढी ५८ हजार २६९ जनाले कर्जा माग गरेका छन् । यस्तै शिक्षित युवा स्वरोजगार कर्जा अन्तरगत जम्मा बैंकिङ प्रणालीबाट १५१ जनाले मात्रै कर्जा लिएका छन्। गत असोजसम्म्मा यस्तामे संख्या १४९ रहेकोमा ४ महिनामा २ जनाले यस्तो कर्जाको स्वीकृति पाएका छन् ।
Comments