कर्णालीमा माओवादी मन्त्रीले बुझाए राजीनामा
नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले आज मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका छन् ।
वैशाख १८ गते माओवादीका तर्फबाट मन्त्री नियुक्त भएका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावत र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री रणसिंह परियारले राजीनामा दिएका हुन् ।
राजीनामा पत्र बुझ्दै मुख्यमन्त्री कँडेलले मन्त्रीहरूलाई सहकार्यका लागि धन्यवाद समेत दिए । उनले राजनीतिमा यस्तै हुने बताउँदै आगामी दिनमा पनि सहकार्य, सहमति गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
केन्द्रीय राजनीतिक समीकरणमा फेरबदल भए पनि माओवादी बाहिरिएको हो । मुख्यमन्त्री कँडेल एमालेका हुन्।
२०८० चैत २७ गते मुख्यमन्त्री पदमा कँडेल नियुक्त भएका थिए । सरकार बनेको तीन महिनामा माओवादी बाहिरिएपछि अब कांग्रेस जानेछ ।
यसअघि कँडेललाई मुख्यमन्त्री बनाउन एमालेसहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन थियो ।
माओवादी बाहिरिए पनि एमालेबाट भौतिक पूर्वधारमा शेरबहादुर बुढा, राज्यमन्त्रीमा गमता विक र भूमि व्यवस्थामा विनोदकुमार शाह सरकारमै छन् ।
एजेन्सी
Comments