चितवनको कृष्णपुरमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरे
चितवनको कृष्णपुरमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन् ।
आज दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले रोकेका थिए । पछि सुरक्षाका लागि प्रहरी घटनास्थल पुगेपछि स्थानीयले प्रहरीकै अगाडि आगजनी गरेका हुन् । गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ ।
रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको बताएपछि गाडी रोकेको रेलमार्ग पीडित सङ्घर्ष समितिका सचिव दिव्य नेपालले जानकारी दिए । सचिव नेपालका अनुसार टोलीले हिजो भरतपुर महानगरपालिका वडा नम्बर ८ मा सर्भे गरेको थियो । आज वडा नम्बर ७ मा सर्भे गर्दागर्दै झन्डै तीन सय जना स्थानीय भेला भएर रोकेका हुन् ।
पूर्व–पश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीयले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
यसअघि भरतपुर महानगरपालिकाको पहलमा सङ्घर्ष समिति र रेल विभाग तथा अन्य सरकारी निकायका बीचमा छलफल गरिएको थियो । त्यस बेला रेलमार्गको अहिले गरिएको सर्भेको रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको थियो । तर अहिले फेरि रेलमार्गका नाममा सर्भे थालिएपछि स्थानीय सशङ्कित बनेका छन् ।
एजेन्सी
Comments