मन्त्री छान्न नेपाली कांग्रेसले बनायो मापदण्ड
नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड बनाएको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गर्दै सरकारमा जाने मन्त्री छान्नका लागि मापदण्ड बनाएको हो।
बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको सो पार्टीको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। सकेसम्म एकैपटक मन्त्रीहरुको टुंगो लगाएर जाने तयारी गरिएको समेत प्रवक्ता महतले बताए। उनले प्रधानमन्त्रीको शपथ ग्रहणसँगै मन्त्रीहरूले सपथ ग्रहण गर्ने बताए। कसलाई पठाउने भन्नेबारे भने आन्तरिक गृहकार्य भइरहेको उनले बताए।
शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न ५ बजेसम्मको समयसीमा दिएर प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए। शुक्रबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको साथ लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।
एजेन्सी
Comments