मोदीको रुस भ्रमण: रुसी सेनामा रहेका भारतीयलाई फिर्ता गर्न पुटिन सहमत
रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका लागि रुसी सेनामा समावेश भएका भारतीयहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राष्ट्रपति भ्लादमिर पुटिनसँग आग्रह गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार मोदीले सोमबार राष्ट्रपति पुटिनसँग यो मुद्दा उठाएका थिए । मोदीको प्रस्तावलाई पुटिनले स्वीकार गरेको बताइएको छ ।
गत महिना युद्धमा दुई भारतीयको मृत्यु भएको थियो । यसपछि भारतले रुससँग त्यहाँ सेनामा भर्ती भएका भारतीयहरूलाई फिर्ता पठाउन माग गरेको थियो । सरकारले यो दुई देशबीचको साझेदारीका लागि राम्रो नभएको बताएको थियो ।
२२औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी सोमबार साँझ मस्को पुगेका हुन् । यहाँ राष्ट्रपति पुटिनले उनका लागि निजी डिनरको आयोजना गरेका थिए ।
यसअघि सोमबार साँझ मस्कोको भानुकोभो–२ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनरले स्वागत गरिएको थियो । आज भारतीय प्रधानमन्त्री मोदीले भारत–रुस वार्षिक सम्मेलनमा भाग लिनेछन् । मोदीले आज मस्कोमा रहेका भारतीय प्रवासीहरूको समूहलाई पनि सम्बोधन गर्ने छन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले समाचार एजेन्सी टासलाई राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच आज दिउँसो भेट हुने जानकारी दिएका छन् । आज प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीचको भेटमा धेरै आर्थिक घोषणा हुनसक्ने बताइएको छ ।
एजेन्सी
Comments