भारतको आसाममा बाढीका कारण २५ लाख मानिस प्रभावित

भारतको आसाममा आएको बाढीका कारण अहिलेसम्म २५ लाख मानिस प्रभावित भएका छन् ।

तीन लाख भन्दा बढी मानिसले घरबार गुमाएर विस्थापित भएका छन् ।

बाढीका कारण ५८ जनाको मृत्यु भएको छ । बाढीका कारण ३० जिल्लाका ९८ गाउँ डुबानमा परेका छन् ।

बाढीले मिसमरी ,बोरोचर, इगराची, बोगमारी, हातीपोरी, अल्गा, हटियाला, चतियारा, डेका क्षेत्रकासबै सडक डुबानमा परेको द आसाम ट्रिब्यूनले जनाएको छ । बाढीका कारण सर्वसाधारणले सास्ती भोगेका छन् ।

आसामका जलस्रोतमन्त्री पिजुस हजारिकाले आइतबार दराङ जिल्लाका बाढी प्रभावित क्षेत्रको भ्रमण गरी अवस्थाको जानकारी लिएका छन् । बाढीका कारण चारवटा तटबन्ध भत्किएका छन् ।

नदी किनारमा धेरै विनाश भएको मन्त्री हजारिकाले बताए । केन्द्रीय सरकारले तत्काल राहत र उद्दारको पहल गर्ने बताएको छ ।

ब्रह्मपुत्र नदी र यसका सहायक नदीहरूमा पानीको स्तर घटन् थालेकाले क्षति कम हुँने आँकलन गरिएको ट्रिब्यूनले जनाएको छ ।

एजेन्सी

Comments

Back to top