प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह

नेकपा एमालेले विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । हिजो बसेको एमालेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन पहलसँगै सबै राजनीतिक दललाई अबको सरकारमा सहभागी हुन आह्वान गर्ने निर्णय पनि गरेको छ ।

बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रमुख दुई दल कांग्रेस र एमालेबीचमा भएको सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । नयाँ सरकार बन्ने वातावरण निर्माणका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ छ । 

एमालेले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न भने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल राजीनामा नदिने भएका छन् । कांग्रेस–एमालेबीच नयाँ सत्ता समिकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मतको सामना गरेर अघि बढ्ने धारणा राखेका हुन् ।

बैठकमा पार्टीका नेताहरुले पनि लोकतान्त्रिक प्रक्रिया अनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका थिए । प्रधानमन्त्रीले संसदमा विश्वासको मतको सामना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलहरुसँग कुराकानी अघि बढाउने निर्णय भएको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। 

एजेन्सी

Comments

Back to top