फिनल्यान्डद्वारा अमेरिकासँगको रक्षा सन्धि अनुमोदन

फिनिश संसद्ले सोमबार संयुक्त राज्य अमेरिकासँगको रक्षा सम्झातालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सम्झौताले फिनल्यान्डमा अमेरिकी सैन्य उपस्थिति र रक्षा सामग्रीको भण्डारण गर्न अनुमति दिनेछ । 

डिसेम्बरमा फिनिश सरकारले रक्षा सहयोग सम्झौता (डिसिए) मा हस्ताक्षर गरेको थियो । फिनल्यान्डको सुरक्षा र रक्षा क्षमताहरू सदृढ पार्ने उद्देश्यले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि रुसको आक्रमण र सन् २०२३ मा नर्डिक मुलुक नाटोमा सामेल भएपछि यो सम्झौता भएको हो । 

गत वर्ष नाटो गठबन्धनमा सामेल भएपछि फिनल्यान्डको छिमेकी रुससँगको सम्बन्ध तीव्ररूपमा तनावपूर्ण भएको छ । फिनल्यान्ड र रुसले एक हजार तीन सय ४० किलोमिटर सीमा साझा गर्छन् । 

सम्झौताले अमेरिकालाई फिनल्यान्डमा १५ सैन्य अड्डासम्म पहुँच प्रदान गर्नेछ र अमेरिकी सेनाको उपस्थिति तथा प्रशिक्षण र फिनिश क्षेत्रमा रक्षा सामग्री तयार गर्न सक्षम बनाउने छ । सम्झौताले सङ्कटको अवस्थामा दुवै मुलुकबीचको सहयोगलाई पनि सुदृढ बनाउने छ । 

स्विडेनले जुन १८ मा उसको डिसिए सम्झौतालाई अपनाउँदा सन्धिले मुलुकमा आणविक अतियारको तैनाथीको ढोका खोलेको भन्दै मतदानअघि आलोचकहरूसँग चर्को बहस भएको थियो । 

फिनल्यान्डमा विवादास्पद विषय भए पनि कानून निर्माताहरूले सन्धिले आणविक हतियारहरूमा राष्ट्रिय कानून लागु हुने सुनिश्चित गरे । कानूनअनुसार आणविक हतियारको आयात र ट्रान्जिट फिनिश क्षेत्रमा प्रतिबन्धित छ । 

सरकार र विदेश मामिला समिति दुवैले रक्षा सम्झौता फिनल्यान्डको सार्वभौमसत्ता, कानून र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत दायित्वको सम्मानमा आधारित भएको बताएका छन् । 

विदेश मामिला समितिका अध्यक्ष सांसद किम्मो किलजुनेन (सोसल डेमोक्रेटिक पार्टी) ले सोमबारको पूर्ण सत्रमा डिसिए सम्झौतालाई ‘ऐतिहासिक क्षण’ का रूपमा स्वीकार गरे । 

“यो सम्झौताको काम नाटो सदस्यताको जस्तै फिनल्यान्ड र फिनिश जनताको सुरक्षालाई बलियो बनाउनु हो”, उनले भने।

अमेरिकाले फिनल्यान्डका नर्डिक छिमेकीहरू स्विडेन, नर्वे र डेनमार्कसहित ११ अन्य नाटो मुलुकसँग यस्तै प्रकारको डिसिए सम्झौता गरेको छ । 

एजेन्सी

Comments

Back to top