फ्रान्समा भोलि चुनाव, म्याक्रोनको पार्टी सर्वेक्षणमा पछाडी

फ्रान्समा आम निर्वाचनको अभियान सकिएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टीले अति दक्षिणपन्थी पार्टी नेशनल र्‍यालीलाई समर्थन नगर्न अपील गरेको छ ।

तर, संसदीय निर्वाचनमा मतदाताले राष्ट्रिय जनसभालाई ऐतिहासिक जनादेश दिन सक्ने देखिन्छ । फ्रान्समा जुन ३० मा पहिलो चरणको निर्वाचन हुँदैछ । दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुँदैछ । फ्रान्सका प्रधानमन्त्री गेब्रियल एटलले यदि मतदाताले नेशनल र्‍यालीमा मतदान गरेमा घृणा र आक्रामकताको लहर आउन सक्ने चेतावनी दिएका छन् । तर मत सर्वेक्षणमा मरिन ले पेन र २८ वर्षीय जोर्डन बर्डेलाको पार्टी अगाडि देखिएको छ ।

यद्यपि, दक्षिणपन्थी नेशनल र्‍यालीले आफूमाथि लगाइएको नस्लवादको आरोपलाई अस्वीकार गरेको छ । तर, आफ्नै बलमा सरकार बनाउन पर्याप्त मत ल्याउने हो कि होइन भन्ने प्रश्न उठेको छ ।

जुनको सुरुमा, राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन र मध्यावधि चुनावको घोषणा गरेका थिए । युरोपेली संसदीय चुनावमा कट्टर दक्षिणपन्थी नेसनल र्‍याली पार्टीले ठूलो सफलता हासिल गरेपछि राष्ट्रपति म्याक्रोनले संसदीय चुनावको घोषणा गरेका थिए ।

चुनावको घोषणा गर्दा म्याक्रोनले आफ्नो देशका नागरिकलाई कट्टरपन्थीलाई महत्व नदिन आग्रह गरेका थिए ।

एजेन्सी

Comments

Back to top