एसइईको नतिजामा सांसदहरू असन्तुष्ट, लगाए सरकारलाई दोष

सांसदहरूले एसइई परीक्षामा ५२ प्रतिशत भन्दा बढी अनुत्तिर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरूले एसईई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनीहरूले ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरू अनुत्तिर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन् । सांसदहरूले धेरै विद्यार्थीहरू अनुत्तिर्ण हुनेको दोष सरकारकै रहेको बताएका छन् ।

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गरे । उनले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताए । यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन उनले आग्रह गरे ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुर्तिण भएका हुन् कि सरकार अनुत्तिर्ण भएको हो भनि प्रश्न गरे ।

शिक्षामा गुणस्तरियता नभएका कारण यस प्रकारको परिणाम आएको उनको भनाइ छ । पौडेलले २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीहरूलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने बताए ।

बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरू अनुत्तिर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राखिन् । उनले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने ? भनि प्रश्न समेत गरिन् ।

एजेन्सी

Comments

Back to top