ग्लोबल आइएमईले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै

ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

यो ऋण लघु, साना तथा मझौला उद्यमहरूलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरुद्धारा सञ्चालित व्यवसायहरूको क्षमता अभिवृद्धि गर्न परिचालन गरिनेछ ।

लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरेको छ । यसका बाबजुद, लघु, साना तथा मझौला उद्यमहरूले लगानीको ठुलो अभाव झेलिरहेका छन् ।

“नेपालमा लघु, साना तथा मझौला व्यवसायहरू र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी परियोजनाहरूलाई सुदृढ बनाउन ग्लोबल आइएमई बैकसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ । यी क्षेत्रहरू दिगो आर्थिक वृद्धि र जलवायु परिवर्तनको प्रतिरोधात्मक क्षमताका लागि निकै महत्त्वपूर्ण छन् ।’ अल्खलिफाले भने ।

“यो ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्त्वपूर्ण सहयोग गर्नेछ । साथै, नेपालमा हरित ऊर्जा क्षेत्रको स्रोत अभावलाई सम्बोधन गर्दै महिलाहरूलाई आर्थिकरुपमा सशक्त बनाउन सहयोग गर्नेछ ।’ ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भने ।

यस महत्त्वपूर्ण सहकार्यको लागि ओपेक फण्डलाई धन्यवाद व्यक्त गर्दै उनले यस सहकार्यले नेपालको अर्थतन्त्रका लागि महत्त्वपूर्ण लघु, साना तथा मझौला उद्यमलाई सुदृढ गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।

एजेन्सी

Comments

Back to top