इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै

जेरुसेलमले उत्तरी गाजामा हमासको शासनलाई विस्थापित गर्ने योजना चाँडै सुरु गर्ने इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले बताएका छन् ।

रेइचम्यान युनिभर्सिटीको वार्षिक हर्जलिया सम्मेलनमा बोल्दै हानेग्बीले हमासको सैन्य क्षमताको पतनले गाजामा हमास शासनको अन्त्य हुने बताए । उनले हमासको अन्त्य चाहने देशलाई यस प्रक्रियामा सामेल हुन आह्वान गरेका छन् ।

प्रधानमन्त्री नेतान्याहूले इजरायली सेनाले गाजालाई हमासको उपस्थितिबाट टाढा राख्ने पहल जारी रहेको र गाजाको नयाँ नेतृत्वमा इजरायलको अब्राहम सम्झौताका साझेदारहरू, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र संयुक्त राष्ट्र सङ्घ समावेश हुने बताए ।

“हामी धेरै महिनादेखि यस धारणाको बारेमा कुरा गर्दै आएका छौं । हमासलाई विस्थापित गर्नका लागि हामीले अब पर्खनु आवश्यक छैन किनकि त्यो प्रक्रियाले लामो समय लिन सक्छ,” उनले भने ।

अमेरिकाले इजरायली अधिकारीलाई युद्धको अन्त्यपछि गाजाको शासनका लागि स्पष्ट दृष्टिकोण विकास गर्न दबाब दिएको छ । बाइडेन प्रशासनले इजरायलले गाजा कब्जा गरेकोमा विरोध जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासको सैन्य र प्रशासनिक क्षमताहरूको विनाश, सबै बन्धकहरूको फिर्ती र गाजाले अब इजरायललाई खतरा नभएको सुनिश्चित गर्नु इजरायलको तीनवटा युद्ध लक्ष्य रहेको बताएका छन् ।

अमेरिकाबाट सञ्चालित पञ्चबोल न्यूजसँगको अन्तर्वार्तामा शुक्रबार प्रधानमन्त्री नेतान्याहूले युद्धपछिको असैन्यीकृत गाजालाई अरब देशहरूको सहयोगमा नागरिकद्वारा सञ्चालित प्रशासनले निरीक्षण गर्ने बताए । उनले सो अवसरमा ‘हमासलाई सत्ताच्युत गर्ने प्रक्रिया’ बारे पनि उल्लेख गरेका थिए ।

एजेन्सी

 

 

Comments

Back to top