९ वटा सहकारीकाे कागजात माग गर्ने संसदीय छानबिन समितिकाे निर्णय

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूची–२ मा रहेका ९ वटा सहकारी संस्थाका कागजात माग गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूची–२ मा रहेका ९ वटा सहकारी संस्थाको कागजात माग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समितिका सभापति सूर्यबहादुर थापाले अनुसूची–२ मा रहेका आइडिएल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाे कागजात माग गरिएको बताए।

 

सभापति थापाले समितिले यी सहकारीहरूको पछिल्लो साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदन, अन्य आवश्यक वित्तीय विवरणहरू माग गरेको बताए । त्यस्तै समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति समेत ६ वटा बुँदासहित ९ वटा सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ ।

सभापति थापाले गोर्खा मिडिया नेटवक प्रालीमा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा समितिको चासो केन्द्रित भएको उल्लेख गरे । कार्यादेशमा उल्लेख भएअनुसार समितिले काम अघि बढाइरहेको उनले बताए ।

एजेन्सी

Comments

Back to top