वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको १० अर्ब ३३ करोडको व्यापार

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सन् २०२३ मा १० अर्ब ३३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा १०.०२ प्रतिशत धेरै हो ।

सन् २०२२ मा यस कम्पनीले ९ अर्ब ३९ करोड १० लाख र सन् २०२१ मा ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।

वर्ल्डलिंक कम्युनिकेसन्स २१ जनवरी, सन् १९९६ मा एक निजी कम्पनीको रुपमा स्थापित भएको थियो । यो अप्रिल २४, सन् २०१९ मा पब्लिक लिमिटेडमा परिणत भएको हो । यो नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो ।

यस कम्पनीको वैदेशिक लगानी २ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । कम्पनीको बजार हिस्सा २९ प्रतिशत छ । यसको सक्रिय ग्राहक संख्या बढ्दै गएको छ । सन् २०२४ को अप्रिल मसान्तसम्ममा ८.९९ लाख पुगेको थियो ।

यसले देशको ४० प्रतिशत भन्दा बढी इन्टरनेट ब्यान्डविथ बोक्छ । र, ७० वटा भन्दा बढी जिल्लाहरुमा यसको सेवा उपलब्ध छ । यस कम्पनीको नेपालभर १ सय ४० शाखा छन् । यसबाहेक, सन् २०२३ मा १५० नयाँ स्थानहरुमा नेटवर्क पूर्वाधार स्थापना गरेको एजेन्सीले जनाएको छ ।

कम्पनीको वित्तीय कार्यसम्पादन सन्तोषजनक रहेको छ र ग्राहक संख्यामा निरन्तर वृद्धि भएको छ । जसकारण व्यापार पनि बढेको हो ।

यसले कुल ३ अर्ब ५० करोड रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये, लङ ट्रम २ अर्ब २९ करोड कर्जाका लागि ‘केयर एनपी ए’ र सर्ट ट्रम १ अर्ब २१ करोड रुपैयाँ बैंक कर्जाका लागि ‘केयर एनपी ए२ प्लस’ रेटिङ प्राप्त गरेको छ ।

एजेन्सी

Comments

Back to top