दक्षिण काेरियामा ब्याट्री कारखानामा आगलागी, २२ जनाकाे मृत्यु

दक्षिण कोरियामा रहेको एउटा ब्याट्री कारखानामा आगलागी हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ । अरू आठ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये १८ जना चिनियाँ नागरिक रहेका स्थानीय अग्नि नियन्त्रण निकायललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आगो लाग्दा कारखानामा झन्डै एक सय जना कामदार थिए । ह्वासङ शहरमा रहेको एरिसेल कम्पनीको कारखानामा आज बिहान आगो लागेको हो । आगो लागेसँगै केही विस्फोटसमेत भएको छ । विस्फोटको डरले अग्नि नियन्त्रकहरू भवनमा जान नसक्दा आगो निभाउन घण्टौँ लागेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

कारखाना भएको भवनको दोस्रो तलामा झन्डै ३५ हजार वटा लिथिअम ब्याट्री थिए । एकपछि अर्को गरेर ब्याट्री पड्किन थालेपछि आगो चाँडै फैलिएको बीबीसीले जनाएको छ । पानीले लिथिअममा सल्किएको आगो निभाउन नसक्ने भएकाले अग्निनियन्त्रकहरूले सुक्खा बालुवा प्रयोग गरेर आगो निभाएका हुन् ।

एजेन्सी

 

Comments

Back to top