बुद्ध एअरले ७२ सिटे जहाजबाट काठमाण्डाै–भरतपुर उडान गर्ने

बुद्ध एअरले ७२ सिटे जहाजबाट काठमाण्डाै–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।

बुद्ध एअर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक हप्तापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । गएको हप्ता एअरले काठमाण्डौ–भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ । धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उनले बताए ।

बस्नेतका अनुसार जहाजले काठमाण्डाैबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाण्डाै जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ ।

बुद्ध एअरको मात्रै उडान हुँदा काठमाण्डौ– भरतपुर भाडा महँगो भएको गुनासो आइरहेको बेला अब श्री एअरलाइन्सले पनि भरतपुरमा उडान गर्ने तयारी थालेकाले प्रतिस्पर्धाका कारण भाडा घट्ने अनुमान छ ।

एजेन्सी

Comments

Back to top